७ पुस, काठमाडौँ । नेकपा एमालेको स्थायी समितिको बैठक आज बस्दैछ । पार्टीका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपार्टीमा दिउँसो १ बजे बस्ने बैठकमा नयाँ सरकार गठन, राष्ट्रियसभा गठनको विवाद र नेकपा माओवादी केन्द्रसँगको पार्टी एकता लगायतको विषयमा छलफल हुने सचिव प्रदीप ज्ञवालीले बताएका छन । एमाले माओवादीसँगको एकता चाँडो टुंग्याउनु पर्छ भन्ने निष्कर्षमा पुगेको छ । एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक पनि आजै बस्ने बताइएको छ । निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका दुई दलका शीर्ष नेता सम्मिलित समितिले निकट भविष्यमा पार्टी एकता गर्ने विषयमा आन्तरिक छलफल गरिरहेको छ । एमाले र माओवादी केन्द्रबीच गत असोज १७ मा चुनावी तालमेल र पार्टी एकताबारे सहमति गरिएको निर्णय सार्वजनिक भएको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस ६, २०७४