४ पुस, काठमाडौँ । वाम गठबन्धनको नेतृत्वमा स्थीर सरकार बन्ने करिब निश्चित भएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमणमा आउने तयारी गरेका छन् । सन २०१८ को मार्चमा सी विदेश भ्रमणमा निस्किँदै छन् । सोही बेला उनी नेपाल पनि आउने तयारी भएको बुझिएको छ । चीनको परराष्ट्र मन्त्रालयले सीले भ्रमण गर्ने देशहरुको सूचीमा नेपाललाई पनि राखेको एमालेका एक नेताले बताए । नेकपा माओवादी केन्द्रका एक शीर्ष नेताले पनि चिनियाँ राष्ट्रपति सी आगामी मार्चमा नेपाल आउने तयारीमा रहेको भन्दै त्यसको आन्तरिक तयारीमा आफूहरु पनि लागेको बताएका छन । चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च नेतृत्वबाट नेपाल भ्रमण भएमा यसले राजनीतिक र कुटनीतिक वृत्तमा ठूलो अर्थ राख्ने भएकाले यसलाई महत्वका साथ हेरिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा चिनियाँ राष्ट्रपति सी नेपाल आउने तयारी भए पनि राजनीतिक अस्थीरतालाई कारण देखाउँदै भ्रमण रद्ध भएको थियो ।
प्रकाशित मिति: सोमबार, पुस ३, २०७४