२ पुस जुम्ला । जिल्ला समन्वय समितिको कार्यालय जुम्ला पाँच महिनादेखि जिल्ला समन्वय अधिकारीविहीन रहेको छ । गएको साउन ३ गते जुम्लाका स्थानीय विकास अधिकारी हरिनारायण बेल्वासे घरमा बुबा सञ्चो नभएको भन्दै जिल्ला बाहिरिएपछि न उनी फर्के न त अर्को कर्मचारी मन्त्रालयले जुम्लामा खटायो । अहिलेसम्म समन्वय समितिले जिल्ला समन्वय अधिकारी पाउन सकेको छैन । जिल्ला समन्वय समितिको गठन नहुँदै स्थानीय विकास अधिकारी बेल्वासे बाहिरिएपछि अहिलेसम्म कोही नआउँदा समन्वय समितिको दैनिक कामकाजमा ठूलो बाधा पुगेको जिसस जुम्लाका प्रमुख लालबहादुर सार्कीले बताएका छन । प्रशासनिक जिम्मेवारी बहन गर्ने प्रमुख नहुँदा समितिलाई अघि बढ्न गाह्रो भएको उनको भनाइ छ । कार्यालय प्रमुख नहुँदा निमित्त र निमित्त नहुँदा सीमितभन्दा पनि अझ सीमितबाट काम चलाउनु परेको उनको भनाइ छ । प्रमुख सार्कीले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियालाई भेटेर जिल्ला प्राविधिक कार्यालय जुम्लाका प्रमुख इञ्जिनियर राजकुमार गोइतलाई आर्थिक अधिकारसहित निमित्त दिन लगाएर काममा केही सहजता ल्याए पनि महत्वपूर्ण काम गर्न÷गराउन कठिन भएको बताएका छन ।
प्रकाशित मिति: शनिबार, पुस १, २०७४