२९ मंसिर, काठमाडौँ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले नयाँ सरकार गठन र नेकपा (माओवादी केन्द्र)सँगको पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने बताएका छन । रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले ताजा जनादेशका आधारमा प्राप्त दलीय हैसियतअनुसार सरकार गठन गर्न कुनै समस्या नरहेको पनि स्पष्ट गरे । वाम गठबन्धनले सहज बहुमत प्राप्त गरिसकेकाले अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओली हुनु स्वभाविक भए पनि औपचारिक निर्णयपछि मात्र आफूले बोल्ने उनले बताए । पार्टी एकताका लागि एकता संयोजन समितिले गृहकार्य गरिरहेको उनले बताए । महासचिव पोखरेलले राष्ट्रियसभामा बहुमतीय प्रणालीमा निर्वाचन हुनुपर्ने र ताजा जनादेश आइसकेकाले वर्तमान सरकार नलम्ब्याई तत्काल नयाँ सरकार गठन गर्नुपर्नेमा पनि जोड दिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०७४