–टीका खतिवडा
१५ मंसिर, इलाम । पहिलो चरणको निर्वाचन सकिएलगत्तै दोस्रो चरणको सरगर्मी बढेको छ । कुल दुई लाख चार हजार ५० मतदाता रहेको पूर्वी पहाडी जिल्ला इलामका उम्मेदवारले चुनावी प्रचारलाई तीव्रता दिएका छन् । दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा रहेको इलाममा प्रत्यक्षतर्फ छ जना प्रतिनिधि आवश्यक पर्छ । यहाँ निर्वाचन क्षेत्र १ मा आठ दल र २ मा १० दल गरी जम्मा ५१ जनाले उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको छ । जिल्लामा पूर्व प्रधानमन्त्रीदेखि पूर्व सभामुख, पूर्व राज्यमन्त्री तथा जिल्लामा लोकप्रिय युवा तथा समाजसेवी नेताले उम्मेदवारी दिएकाले इलाममा निर्वाचनको चर्चा निकै रहेको छ ।
इलाममा वाम गठबन्धन र नेपाली काँग्रेसका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने मतदाताको बुझाइ छ । दोस्रो चरणअन्तर्गत इलाममा २१ गते हुने निर्वाचनका लागि उम्मेदवार तथा पार्टी समर्थक मत माग्न अहिले मतदाताको घरदैलोमा पुगिरहेका छन् । उहाँहरुले सामाजिक सञ्जालमा समेत आफ्ना समर्थकको मत मागिरहनुभएको छ । उम्मेदवार मतदाता रिझाउन व्यस्त छन् भने मतदाता पनि उम्मेदवारलाई तौलिरहेका छन् । कस्ता उम्मेदवारलाई जिताउने भन्नेमा इलामका मतदातासमेत सोचिरहेका छन् । प्रतिनिधिसभा दुईवटा क्षेत्र रहेको इलाम क्षेत्र नम्बर १ मा वामगठबन्धनका एमाले उम्मेदवार झलनाथ खनालको प्रतिस्पर्धा नेपाली काँग्रेसबाट भूपेन्द्र कट्टेलसँग हुँदैछ । उहाँहरु दुवै यतिबेला चुनाव प्रसारप्रचारमा व्यस्त रहनुभएको छ ।
देशका लागि आफूले काम गरेको अनुभव रहेको र इलाम निर्वाचन क्षेत्र नं १ मा अझ बढी विकास गर्ने भन्दै खनाल मत मागिरहनुभएको छ । देशको विकास गर्न र राष्ट्रलाई समृद्ध बनाउन पनि वामगठबन्धनलाई नै मत दिनुपर्ने उहाँको तर्क छ । त्यस्तै नेपाली काँग्रेसबाट उम्मेदवारी मनोनयन दर्ता गराउनु भएका भूपेन्द्र कट्टेल पनि आफ्नो जित सुनिश्चित रहेको बताउनुहुन्छ । पार्टीका पूर्व क्षेत्रीय सभापति रहनुभएका उहाँ सो क्षेत्रबाट विजय भएर प्रधानमन्त्री भइसक्नुभएका खनालले सो क्षेत्रको विकासमा पहल नगरेकाले पनि आफूलाई यस क्षेत्रका मतदाताले मत दिनेमा उहाँ ढुक्क हुनुहुन्छ ।
क्षेत्र नं २ मा वामगठबन्धनकै एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङको प्रतिस्पर्धा काँग्रेसका केशव थापासँग हुँदैछ । थापा पनि काँग्रेसका दरिला उम्मेदवार मानिनुहुन्छ । पूर्वराज्यमन्त्री बनिसक्नुभएका उहाँ र पूर्व सभामुखबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । यसअघि तीनवटा निर्वाचन क्षेत्र रहेको इलाममा यसपटक भने दुईवटा मात्र कायम गरिएको छ । पहिलाभन्दा ठूलो क्षेत्र भएकाले सबै ठाउँमा पुग्न निकै मुस्किल परेको पूर्व सभामुख नेम्वाङ बताउनुहुन्छ । संविधान जारी भइसकेपछि यसलाई कार्यान्वयन गर्न पनि आफूलाई जनताले मत दिने उहाँको विश्वास छ । त्यस्तै थापाको पनि उस्तै तर्क छ नेम्वाङले इलाम क्षेत्र नं २ को विकास गर्न सक्नु भएन र आफ्नै पालो आएको हो ।
विसं २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा खनाल क्षेत्र नं १, नेम्वाङ क्षेत्र नं २ र थापा क्षेत्र नं ३ बाट विजयी हुनुभएको थियो । अघिल्लोपटक निर्वा्चित जनप्रतिनिधिले सदरमुकाममा निर्माणाधीन सुकिलुम्बा विमानस्थललाई पूर्णता दिन, ग्रामीण सडकको स्तरोन्नति गर्न, सुविधा सम्पन्न अस्पताल बनाउन, युवालाई रोजगारी दिन नसकेको गुनासो मतदाताले गरिरहेका छन् । उम्मेदवार मत माग्न गाउँगाउँमा जाँदा मतदाताले भने अघिल्लोपटक गरेको कामका बारेमा स्पष्टीकरण सोध्ने गरेका छन् । स्थानीय विकासलाई प्राथमिकतामा राख्दै सबै उम्मेदवारले मत मागिरहेका छन् । तर उम्मेदवारका आश्वासनप्रति मतदाता अझै विश्वस्त हुन सकेका छैनन् । मतदाताले यसपटक सचेत भएर मात्र मतदान गर्ने बुझिएको छ ।
इलाममा वामगठबन्धनका तर्फबाट एमाले र माओवादी केन्द्र तथा नेपाली काँग्रेस, नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय समाजवादी फोरम, दोस्रो चरणको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । प्रतिनिधिसभाको दुई निर्वाचन क्षेत्र रहेको इलाममा वामगठबन्धन र काँग्रेसका साथै नयाँ शक्ति पार्टी नेपालका तर्फबाट मानवीर लेप्चा, विवेकशील साझा पार्टीबाट सचिन घलेले उम्मेदवारी दर्ता गराउनुभएको छ । यसैगरी राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट ललितबहादुर थेवे, मंगोल नेशनल अर्गनाइजेसनबाट सूर्यकुमार गुरुङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दिलप्रसाद नेम्वाङ र संघीय समाजवादी फोरम नेपालका तर्फबाट सुवास राई चौरासेले प्रतिनिधिसभाको लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यसैगरी प्रदेशसभातर्फ क्षेत्र नम्बर १ कोे (एक) मा एमालेका खिनु लङ्वा लिम्बू, नेपाली काँग्रेसबाट देवेन्द्रकुमार राई, नयाँ शक्ति पार्टीका हरिबहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेसनका अमुम्मदेव माक्रेहाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट थुमबहादुर गुरुङ, संघीय समाजवादी फोरमबाट लासाङ तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भोजराज लामिछाने रहनुभएको छ । क्षेत्र नं १ को मा वामगठबन्धनबाट काजीमान कागते, नेपाली काँग्रेसबाट दुर्गाकुमार बराल, नयाँ शक्ति पार्टीबाट रामप्रसाद सञ्जेल, मंगोल नेशनल अर्गनाइजेसनबाट राजन चाम्लिङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट होमबहादुर लिम्बू, संघीय समाजवादी फोरमबाट दृपादास राई, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट राजेन्द्रकुमार लामिछाने र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट विष्णुबहादुर सुब्बाले उम्मेदवारी दिनुभएको छ ।
इलाम क्षेत्र नं २ को प्रतिनिधिसभामा वाम गठबन्धनबाट नेम्वाङ र नेपाली काँग्रेसबाट थापासहित राष्ट्रिय जनमोर्चाबाट कुलबहादुर लिम्बू, संघीय समाजवादी फोरम नेपालबाट कृष्णबहादुर खत्री, राष्ट्रिय जनमुक्तिबाट खड्गप्रसाद पालुङवा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट दलबहादुर राई रहनुभएको छ । यसैगरी मङ्गोल नेशनल अर्गनाइजेसनबाट गलिन्द्र लिम्बू योङहाङ, देशभक्त जनगणतान्त्रिक मोर्चाबाट टंकमणि राई र नयाँ शक्तिबाट देपकुमार जवेगु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपककुमार योङहाङ रहनुभएको छ ।
क्षेत्र नं २ को (एक) बाट वामगठबन्धनबाट एमालेका रामबहादुर मगर, नेपाली काँग्रेसका तर्फबाट डम्बरबहादुर खडका, राष्ट्रिय जनमुक्ति पार्टीबाट भक्तिदास राई, मंगोल नेशनल अर्गनाइजेसनबाट लक्षुमन राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अम्बिका लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नसिव राई, संघीय समाजवादी फोरमबाट बखतबहादुर आङ्दम्बे र स्वतन्त्र दीपेन्द्र बस्नेतले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताउनुभयो । प्रदेशसभाको २ मा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका धीरन्द्र शर्मा रमण, नेपाली काँग्रेसका तर्फबाट खगेन्द्र देवान, राष्ट्रिय जनमुक्ति पार्टीबाट जयकुमार केरुङ, मंगोल नेशनल अर्गनाइजेसनबाट भुवनसिंह लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट थाङसाङ लावती र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट लालबहादुर डागीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
निर्वाचन कार्यालयले मतदानस्थल र मतदान केन्द्र निर्धारण सम्पन्न गरी जिल्लाका १० वटै स्थानीय तहका कार्यकारी अधिकृतलाई निर्वाचन शिक्षासम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ । जिल्लामा १४४ मतदानस्थल र २६६ मतदान केन्द्र कायम भएका छन् । त्यस्तै कार्यालयले निर्वाचन शिक्षा कार्यकर्ताको छनोट शुरु गरेको छ । मतदान प्रक्रियाका बारेमा प्रत्येक मतदातालाई शिक्षित बनाउन निर्वाचन शिक्षा कार्यकर्ताका रुपमा सामाजिक परिचालक र बाल शिक्षाका सहयोगी कार्यकर्तालाई परिचालन गरिने निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्णकुमार लिम्बूले जानकारी दिनुभयो । प्रत्येक एक मतदान केन्द्रमा एक जना निर्वाचन शिक्षा कार्यकर्ता पर्ने गरी २६६ निर्वाचन शिक्षा कार्यकर्तालाई परिचालन गरिएको छ । लिम्बूका अनुसार यसअघि स्थानीय तहको निर्वाचनमा निर्वाचन शिक्षाका रुपमा काम गरेका २४४ लाई यथावत खटाइनेछ । बाँकी २२ जना नयाँ थप गरिनेछ । प्रमुख निर्वाचन अधिकृत सुवेदीका अनुसार यहाँको निर्वाचन सामग्री एक दिनमा सबै मतदान केन्द्रमा पु¥याउन सकिन्छ र प्रायः सबै केन्द्रसम्म सवारीसाधन पुग्ने भएकाले प्राविधिकरुपमा कठिनाइ छैन ।
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०७४