१४ मंसिर, काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियास्थित इन्टरनेशनल अमेरिकन युनिभर्सिटीले व्यवस्थापन प्रशासन विषयको मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ । सामाजिक क्षेत्रको सुधार र व्यवस्थापनमा उदाहरणीय भूमिका निर्वाह गरी नेपाली समाजलाई योगदान गरेको उल्लेख गर्दै अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलस शहरमा यही नोभेम्बर २६ मा युनिभर्सिटीले आयोजना गरेको विशेष समारोहमा उक्त उपाधि प्रदान गरेको रेग्मीका प्रेस संयोजक राजेन्द्रप्रसाद पाण्डेले विज्ञप्ति मार्फत जानकारी दिएका छन । विश्वमा मानवता, नैतिकता र सदाचारको प्रवद्र्धन र संवद्र्धन गर्ने उद्देश्यका साथ शैक्षिक सेवा प्रवाह गर्दै आएको युनिभर्सिटीको व्यवस्थापन संकायको सिफारिसमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले नेपाली समाजमा गरेको विशिष्ट योगदान र सेवाको कदर गर्दै उक्त उपाधि प्रदान गरेको उक्त विश्वविद्यालयले जनाएको छ ।
मानार्थ विद्यावारिधिको उपाधि ग्रहण गर्न २०७४ मंसिर ७ गते अमेरिका प्रस्थान गरेका मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले उपाधि वितरण समारोहमा सम्बोधन गर्दै आफूलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिएकोमा प्रसन्नता व्यक्त गर्नुका साथै मानवताको प्रवद्र्धनमा युनिभर्सिटीले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए । सम्बोधनकै क्रममा पूर्वअध्यक्ष रेग्मीले समाजबाट आफूले के प्राप्त गर्न सकिन्छ भन्ने भन्दापनि आफूले समाजलाई के योगदान गर्न सकिन्छ भन्ने मान्यताबाट अग्रसर हुन सकेमा नै आफ्नो र समाजको पनि भलो हुन्छ भन्दै विश्वमा मानवीय सेवाको विस्तारको कार्यलाई विशेषरुपमा प्रवद्र्धन गर्नुपर्नेमा समेत जोड दिएका थिए । युनिभर्सिटीले आयोजना गरेको मानार्थ विद्यावारिधि वितरण समारोह तथा अन्य कार्यक्रममा सहभागी भई मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी बिहीबार स्वदेश फर्किएका छन ।
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०७४