१२ मंसिर, बाजुरा । बाजुराको उत्तरी भेगमा रहेको पाण्डवगुफा गाउँपालिका–४ मा रहेको मालिका मावि बाङ्गपानी मतदान केन्द्रका मतदान अधिकृत प्रेमराज गिरी पोरखे लेकबाट सोमबारदेखि सम्पर्क्विहीन भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बाजुराका प्रहरी निरीक्षक जगदीश भट्टले दिएको जानकारीअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको मतदान प्रक्रिया सकिएपछि मतदान केन्द्रबाट सदरमुकाम मार्तडी आउने क्रममा अधिकृत गिरी बीचबाटोबाट सम्पर्क्विहीन भएका हुन । सम्पर्क्विहीन रहेका गिरी प्रधानमन्त्री कृषि आधुनिकीकरण जोन कार्यक्रमका कर्मचारी हुन् । गिरी मदिरा सेवन गर्ने भएकाले उनी कतै होटलमा बसेर मदिरा खाएर बसेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । सम्पर्क्विहीन रहेका गिरीको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ । पोरखे लेकसम्म गिरी मतपेटिकासँगै रहेको भए पनि साँझ पर्न थालेपछि उनी सम्पर्क्विहीन भएको उनका सहयोगी कर्मचारीले बताएका छन् । गिरीको मतदान केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगे पनि मतपेटिका बुझाउन बाँकी रहेको हुँदा मुुख्य निर्वाचन अधिकृतको कार्यालय बाहिर अलपत्ररुपमा मतपेटिका राखिएका छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०७४