४ मंसिर, काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै काठमाडौंमा वाम गठबन्धनका उम्मेदवारहरु च्ुनावी प्रचारका लागि घरदैलो र मतदाता भेटघाटमा केन्द्रीत हुनुभएको छ । आ–आफ्ना क्षेत्रका विकास निर्माण, वडा र टोलका विविध समस्या समाधान गर्ने एजेण्डा र प्रतिबद्धतासहित वाम गठबन्धनका उम्मेदवार घरदैलो र मतदाता भेटघाटमा केन्द्रीत हुनुभएको हो । १० ओटै निर्वाचन क्षेत्रका उम्मेदवारहरु बिहानैदेखि घरदैलोमा सकृय हुनुभएको हो ।
नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले काठमाडौं–२ नम्बर क्षेत्र स्थित कोटेश्वरको महादेवस्थानबाट तिनकुने सुविधानगरसम्म घरदैलो र मतदाता भेटघाट गर्नुभएको छ । सेतीओपीमार्ग कोटेश्वर चोकहुँदै घरदैलो सुविधानगरमा पुगेर सम्पन्न भएको हो । वरिष्ठ नेता नेपालसँगै प्रदेशसभा कका उम्मेदवार सानुकुमार श्रेष्ठ पनि सहभागी हुनुभएको थियो । पूर्वप्रधानमन्त्री नेपाललाई घर–घरबाट मतदाताहरुले सडकमा ओर्लिएर स्वागत गर्नुभएको थियो । कतिपय वृद्ध–वृद्धाले नेपाललाई मुलुकको नेतृत्व गर्नका लागि शुभकामनासमेत दिनुभएको थियो ।
घरदैलोमा उहाँले मतदाहरुमााझ आफ्ना भावी योजनाका बारेमा अवगत गराउनुभएको थियो । आफु ३४ वर्षदेखि कोटेश्वरकै स्थानीयबासी भएका कारण स्थानीय समस्याबारे जानकार भएकाले आगामी दिनमा समाधानका लागि पहल लिने प्रतिबद्धता व्यक्त गर्नुभयो । दुई नम्बर क्षेत्रमा भएको विकास निर्माणको हरेक काममा आफ्नो संलग्नता रहेको भन्दै उहाँले आगामी दिनमा पनि स्थानीय स्तरमा देखिएका हरेक समस्या समाधानको अगुवाई गर्ने पनि बताउनुभयो ।
नेता नेपाल र श्रेष्ठले सोमबार साँझ ४ बजेदेखि कोटेश्वरमा रहेको पार्टी कार्यालयदेखि नरेफाँटसम्म घरदैलो कार्यक्रम गर्नुहुनेछ ।
त्यस्तै, महासचिव ईश्वर पोखरेलले पनि निर्वाचन नजिकीएसँगै घरदैलो कार्यक्रमलाई बढाउँदै लैजानु भएको छ । पोखरेलले सोमबार बिहान पाँच नम्बर क्षेत्रका मतदातासँग भेटघाट गर्नु भएको छ । उहाँले सोमबार अन्नपूर्ण मार्ग उपभोक्ता समितिसँग सुकेधारामा भेटघाट र छलफल गर्नुभएको छ । समितिसँगको भेटघाट सकिएलगत्तै पोखरेल काठमाडौं चण्डोलमा घरदैलो कार्यक्रममा सहभागी हुनुभयो ।
उहाँले घरदैलो कार्यक्रमका क्रममा स्थानीय स्तरमा हुने विविध विकास निर्माणको काममा आफुले जिम्मा लिने प्रतिबद्वता जनाउनुभयो । पाँच नम्बर क्षेत्रको विकास निर्माण गर्नु, उक्त क्षेत्रलाई सम्बृद्व बनाउनु एक मात्र उद्देश्य भएको भन्दै आफ्नो उद्देश्य पुरा गर्न स्थानीय मतदाताको सहयोगको अपेक्षा गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘यो क्षेत्रमा विकास निर्माणका काम के के भएका छन्, हुनुपर्ने के के छ, त्यसका बारेमा म जानकार छु, यहाँको समस्याको बारेमा पनि म जानकार छु, त्यसैले तपाईहरुले भोग्दै आएको समस्या समाधान गर्ने अवसर दिनुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु ।’
नेता पोखरेलको सोमबार साँझ साढे ३ बजेदेखि पुन घरदैलो कार्यक्रम रहेको छ । त्यो समयमा उहाँले चुनदेवि लगायत क्षेत्रमा घरदैलो गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०७४