३ मंसिर, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको आकस्मिक हृदयाघातका कारण मृत्यु भएको चिकित्सकले जनाएका छन् । बिहान ५ बजेर ५० मिनेट अचेतावस्थामा दुई सुरक्षाकर्मीले थापाथलीस्थित नर्भिक अस्पताल ल्याउँदा नै उनकोे मृत्यु भएको अस्पतालका मृटुरोग विशेषज्ञ डा केपी अग्रवालले पत्रकार सम्मेलनमा जानकारी दिए । उनले भने, “अस्पताल ल्याउँदा नै उहाँका हातखुट्टा चिसो भइसकेको थियो, आकस्मिक कक्षमा ल्याइएको नौ मिनेटमै हामीले उहाँको निधन भइसकेको जानकारी परिवारलाई गराएका थियौँ ।” “अस्पतालको आकस्मिक कक्षमा ल्याउँदा उहाँ पूर्णतया बेहोश, हातखुट्टा पूरै नीलो र कडा, श्वासप्रश्वास पूर्णतया बन्द, शरीर पूरै चिसो, इसिजी गर्दा मुटुले गतिविधि नगरेको हँुदा बिहान ५ बजेर ५९ मिनेटमा मृत घोषणा गरिएको थियो”, डा अग्रवालले भने । उनको उपचारमा डा अग्रवाल, डा यादव भट्टसहित, डा रवीन्द्रप्रसाद यादव, डा विमलेश श्रेष्ठ र डा महेश यादवलगायत संलग्न रहेका थिए ।
शरीर चिसो र सुन्निएको पाइएकाले अस्पताल ल्याइपु¥याउनु तीन घण्टाअघि नै उनको मृत्यु भएको हुनसक्ने चिकित्सकले बताएका छन् । पुत्रको निधन खबर पाएपछि चुनावी अभियानमा झापामा रहेका अध्यक्ष दाहाल हेलिकप्टरमार्फत काठमाडौँ आएका थिए । छोराको मृत्युपछि शोकमा डुब्नुभएकी प्रकाशकी आमा सीता दाहालको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि नर्भिकबाट डा यादव भट्टको टोली दाहाल निवास लाजिम्पाट पुगेको छ । श्रीमानको मृत्युको खबर सुनेर छोरासहित अस्पताल पुगेकी प्रकाशकी पत्नी सिर्जना त्रिपाठी अचेत भएपछि उनकोे पनि नर्भिककै आकस्मिक कक्षमा स्लाइन दिई उपचार भइरहेको अस्पतालले जनाएको छ । नेता दाहाल काठमाडौँ पुगी निवास लाजिम्पाट पुगेर बिहान ११ बजेर ३० मिनेटमा अस्पताल गएका थिए । उनीसँगै पुत्री तथा भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल पनि सँगै अस्पताल पुगेकी थिइन ।
वाम गठबन्धनबाट कञ्चनपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभाका उम्मेदवारसमेत रहनुभएकी प्रकाशकी पत्नी विना मगर पनि शोकाकुलावस्थामा अस्पताल पुगेकी थिइन । शनिबार बेलुकी सामान्य बिरामी भएपछि जाउलो खाएर सुतेका प्रकाश चुनावी अभियानका क्रममा चितवनबाट शनिबार काठमाडौँ आएको बताइएको छ । डा अग्रवालले भने, “उहाँलाई आकस्मिक हृदयाघात भएको हो, किनकि उहाँको शरीर हेर्दा राम्रो छ, केही सेवन गरेको देखिएन, धेरैजसो युवामा आकस्मिक हृदयाघात देखिन्छ, वंशाणुगत पनि हुन्छ, ९९ प्रतिशत यही कारण मृत्यु भएको हुनसक्छ ।” अन्य एक प्रतिशतमा मस्तिष्काघातको काराण हुन सक्ने स्ट्रोक हुनसक्ने चिकित्सकले बताएका छन् । आकस्मिक हृदयाघातका कारण हिँड्दाहिँड्दै छाती दुख्ने र तुरुन्त ज्यान जान सक्ने डा अग्रवालले बताए ।
प्रकाशित मिति: शनिबार, मंसिर २, २०७४