२८ कात्तिक, काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन जतिजति नजिकिँदैछ भक्तपुर निर्वाचन क्षेत्र नं.२ मा पनि त्यति नै निर्वाचनको ताप बढ्दो छ । खासगरी निर्वाचनका लागि मनोनय दर्ता गर्ने निर्धारित समयको केही घण्टा अगाडि मात्र नेपाली काँग्रेसले जिल्लाबाट सिफारिस भएका नामावलीलाई लत्याएर २०५१ सालदेखि राजनीतिबाट टाढा रहेका पूर्व सभामुख दमननाथ ढुङ्गानालाई उम्मेदवार बनाउने निर्णय बालुवाटारबाट सार्वजनिक भएपश्चात एकाएक जिल्लाभरि तरङ्ग पैदा हुनपुग्यो । यो खबर सार्वजनिक भएपश्चात जिल्लाका काँग्रेस नेतृत्वमा एकखालको सन्नाटा छाउन पुग्यो भने कार्यकर्ताहरुको मनोबल ह्वात्तै गिरेको छनक सोही दिन सामाजिक सञ्जालहरुमा सार्वजनिक भएका पोष्टहरुबाट पुष्टी हुन्छ । स्वभाविक रुपमा नेपाली काँग्रेसका लागि यसपालीको निर्वाचन त्यति सहज थिएन । यसको दुईवटा कारण प्रष्ट देखिन्छ । पहिलो २०७० सालको निर्वाचनमा निर्वाचित आफ्नो नेतृत्व रामेश्वर ढुङ्गेलको राष्ट्रिय राजनीतिमा पहुँच र पहलको कमी थियो भने दोश्रो भक्तपुरको राजनीतिमा उदायमान महेश बस्नेतलाई बाम गठबन्धनले उम्मेदवार बनाउनु । यो दुवै चुनौतीकाबीच भक्तपुर काँग्रेस नेतृत्वका लागि सर्वसम्मत उम्मेदवार चयन गर्न कठिन भइरहेका बेला केन्द्रीय नेतृत्वले दमननाथ ढुङ्गानालाई भक्तपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा प्रत्यक्ष तर्फ उम्मेदवार बनाउने निर्णय गरेको हो ।
२०५१ सालको संसदीय निर्वाचनमा दमननाथ ढुङ्गाना काठमाण्डौ क्षेत्र नम्बर २ बाट एमालेकी विद्या भण्डारीसँग पराजित भएका थिए । सोही बेलादेखि उनी राजनीतिबाट टाढा हुँदै आफूलाई नागरिक समाजका अगुवाका रुपमा परिचित गराउँदै आएका थिए । विगत केही समययता दमननाथ विकासे एजेण्डा बोक्दै भारत र युरोपियन युनियनको सहयोगमा विभिन्न परियोजनामार्फत आफ्नो कार्यक्रमहरुलाई अगाडि बढाइरहेका छन् । उनीमाथि विगतमा भारतले नेपालमाथि लगाएको नाकाबन्दीका बेला नेपालमाथि अझ कडा नाकाबन्दी गर्नुपर्ने मागसहित भारतीय दुतावास पुगेको आरोप पनि लागेको छ । त्यसको साथै भक्तपुरका नागरिकहरुका निम्ति उनी नयाँ अनुहार भएकाले उनको उम्मेदवारीलाई भक्तपुरका जनताले स्वभाविक रुपमा लिन सक्ने आधार भने देखिँदैन । यद्यपि, नयाँ पुस्ताका कांग्रेस कार्यकर्ताले दमननाथ ढुंगानाकै सोधखोज गरेतापनि विस्तारै कांग्रेसजनमा ढुंगानासँग परिचय शुरु भएको कांग्रेस जिल्ला सभापति दुर्लभ थापा बताउँछन् । यता भक्तपुरको राजनीतिमा २०५४ सालदेखि स्थानीय तहको नेतृत्वबाट उदायका महेश बस्नेतको चर्चा अहिले जिल्लाको चोक चोक र सार्वजनिक स्थलहरुमा समेत हुन थालेको छ । युवा संघका अध्यक्ष हुँदै उद्योग मन्त्री समेत हुन सफल उनी राष्ट्रिय नेताको रुपमा मात्र स्थापित भएका छैनन् केन्द्रसम्म पहुँच र पहल गर्न सक्ने नेताका रुपमा जनताका सामु परिचित बन्न पुगेका छन् । २०७० सालको संविधानसभा चुनावमा यहि क्षेत्रबाट उम्मेदवार बनेर पराजित भएतापनि बस्नेत उद्योगमन्त्री भएपछि यस क्षेत्रको विकास निर्माणमा अहोरात्र खटिए । अझ विशेष गरेर २०७२ सालको भूकम्पका बेला जिल्लामा उनको खटाइलाई सबैले प्रशंसामात्र गरेका छैनन्, दुःखमा जनताको पीरमर्का बुझ्न सक्ने एकमात्र नेताका रुपमा जनताले लिन थालेका छन् ।
त्यसो त युवा संघको अध्यक्षको रुपमा प्रभावकारी भूमिका निभाएका बस्नेत रास्ट्रिय स्तरमा लोकप्रिय हुनुका साथै भक्तपुरमा राष्ट्रिय महत्वका योजनाका बजेट पार्न सक्षम नेताकारुपमा लोकप्रिय छन् । उनकै विशेष पहलमा ७८ करोडको हनुमन्ते कोरिडोर निर्माण सुरु भएको छ भने मनोहरा कोरिडोरको लागि पनि बजेट विनियोजन भएको छ । त्यस्तै कटुञ्जेमा मेलम्चीको खानेपानी जम्मा गर्ने ट्याङ्की निर्माण गराउने देखि भक्तपुरमा दुई स्टलाईट सिटिको योजना गराउने, बीर अस्पताल भक्तपुरमा सार्ने, मुहान पोखरीमा ३ अर्बको लागतमा ड्याम बनाएर खानेपानी समस्याको दीर्घकालिन समाधान गर्ने, पर्यटनको विकासको योजना बनाउने, भक्तपुरमा करिब ४८ वटा सडक निर्माण कार्य गराउने, हनुमन्ते खोलामा ५ ठूला पुल निर्माण गराउने आदि योजनाहरुमा बस्नेतले अग्रणी भूमिका खेल्न पुगे । मेलम्चीको पानी भक्तपुरमा दोस्रो चरणमा बितरण गर्ने सुरुको योजनालाई बस्नेतको विशेष पहलमा पहिलो चरणमै सारिएको छ । केपी ओलीको सरकार भएको समयमा बस्नेतले मेलम्चीको पानी पहिलो चरणमै भक्तपुरमा वितरण गर्ने निर्णय गराएबाट भक्तापुरबासी पनि बस्नेत प्रति धेरै सकारात्मक छन् । राजनीतिक बृत्तमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा बाम गठबन्धनका साझा उम्मेदवार महेश बस्नेत र काँग्रेस उम्मेदवार दमननाथ ढुङ्गानाबीच प्रतिस्पर्धा हुने अनुमान लगाइएतापनि काँग्रेसको निम्ति सहज परिणाम आउन नसक्ने तर्क बामगठबन्धनको छ । लामो समयदेखिराजनीतिबाट निष्क्रिय बनेका र भक्तपुरका लागि नयाँ अनुहार भएका कारण पनि काँग्रेस उम्मेदवार ढुङ्गानाको पक्षमा जनताले मत नहाल्ने तर्क बामगठबन्धनका साझा उम्मेदवार महेश बस्नेतको छ । स्थानीय रुपमा जनतासँग प्रत्यक्ष रुपमा भिजेको र जननाको हर दुःखमा सँगै सहकार्य गर्दै आएका कारण पनि जनताले आफूलाई विजयी बनाउने बस्नेतको बुझाइ छ ।स्थानीय तहको मताधार, भूकम्पपछि र मन्त्री भएपछि यो क्षेत्रको विकासमा आफूले गरेका काम र वामपन्थी गठबन्धनको कारण फराकिलोअन्तरमा चुनाव जित्ने बस्नेत बताउँछन् । ढुङ्गानालाई भक्तपुरका मतदाताले नचिनेकाले आफूले उनको बारेमा कुनै टिप्पणी गर्नु आवश्यक नभएको बस्नेतको तर्क छ ।

त्यसो त काँग्रेसलाई नेपाल मजदूर किसान पार्टीले सहयोग गर्ने हल्ला चलाइएता पनि यसमा कुनै सत्यता नभएको स्वयं पार्टीका नेतृत्वतहरु पुष्टी गरिसकेका छन् । यस क्षेत्रमा आफ्ना प्रभावशाली नेता अनुराधा थापामगरलाई उम्मेदवार बनाएको नेपाल मजदूर किसान पार्टीले आसन्न निर्वाचनमा काँग्रेसलाई कुनैपनि हालतमा सहयोग गर्न नसक्ने अध्यक्ष नारायणमान बिजुक्छेले बताएका छन् । भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेको प्रत्येक चुनावमा आफ्नोमत बृद्धि भइरहेको पछिल्ला ५ वटा संसदीय र स्थानीय चुनावको मतको आंकडाले देखाउँछ । २०४८ सालमा कांग्रेसले १६ हजार मत पाएर जित्दा चौथो स्थानमा रहेको एमालेले ६ हजार मत पाएको थियो । २०५१ मा नेमकिपाले १४ हजार मत पाएर जित्दा काँग्रेसको मत करिब ११ हजारमा झर्यो । २०५१ मा राप्रपा दोस्रो बन्यो भने एमालेले २ हजार मत बढाएर चौथो स्थानमै रह्यो । २०५६ मा काँग्रेसले १४ हजार मतका साथ विजयी हुँदा एमाले ९ हजार मत सहित तेस्रो बन्यो ।
२०६४ मा नेमकिपाले १८ हजार मत पाएर जित्दा कांग्रेस १३ हजारमा रह्यो भने एमालेले निरन्त मत बढाउँदै ११ हजार पु¥याउन सफल भयो । २०७० मा पुग्दा देशभरिकै धेरै मतदाता रहेको निर्वाचन क्षेत्र बनेको भक्तपुर २ मा कांग्रेसले करिब २१ हजार मत पाएर जित्दा एमालेका महेश बस्नेत १६ हजार मत ल्याए । केही महिनाअघिमात्र सम्पन्न स्थानीय तह चुनावमा बस्नेतकै नेतृत्वमा भक्तपुरमा तेस्रो शक्तिका रुपमा रहेको एमालेलाई पहिलो बनाए । सो क्षेत्रका दुवै नगरपालिकामा एमालेले जित्यो । बस्नेतले २०७० सालमा ल्याएको भन्दा १० हजार मत बढी स्थानीय तहमा एमालेले ल्याएको छ । भक्तपुर २ मा रहेका सूर्यविनायक नगरपालिका र मध्यपुर ठिमी नगरपालिकामध्ये सूर्यबिनायकमा एमाले बलियो देखिन्छ । नगरपालिकामा मेयर उपमेयरसहित १० मध्ये ७ वडा एमालेले जितेको छ । एमालेले १२ हजार मत पाउँदा यहाँ कांग्रेसले १० हजार मत पाएको थियो ।स्थानीय चुनावमा एमालेका मेयर उम्मेदवार मदनसुन्दर श्रेष्ठ १४ हजार मतका साथ बिजयी हुँदा काँग्रेसका अष्ट कबेले १० हजारमात्र मत पाएका थिए ।
स्थानीय तहको मत परिणाम अनुसार यो क्षेत्रमा एमालेको एक्लै २६ हजार १३५ मत छ भने कांग्रेसको २१ हजार ११ मत छ । त्यस्तै नेपाल मजदूर किसान पार्टीको मत करिब ५ हजार रहेको छ । माओवादीले सूर्यविनायक र मध्यपुरमा गरी २६ सय मत पाएको छ । दुवै वामपन्थीको मत जोड्दा करिब २८ हजार मत छ भने कांग्रेसको २१ हजार मत रहेको छ । स्थानीय र सक्रिय उम्मेदवार हुनुको फाइदा उठाउँदै महेश बस्नेतले कम्तिमा ५ हजार मतान्तरले आफूले जित्ने अपेक्षा गरेका छन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०७४