१० कात्तिक, काठमाडौँ । विभिन्न पार्टीका महिला नेतृले संविधानको भावनाअनुसार आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा महिलाको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गरेका छन् । साझा महिला अभियान र जागरण नेपालले शुक्रबार काठमाडौँमा आयोजना गरेको महिला नेता र पत्रकारबीचको अन्तक्र्रियामा उनीहरूले स्थानीय तहमा न्यूनतम ५० प्रतिशत, प्रदेश सभामा न्यूनतम ४० प्रतिशत र प्रतिनिधि सभामा न्यूनतम एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका हुन् । नेपाली काँग्रेसकी नेतृ एवं नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मीले महिला सहभागिताको सुनिश्चितताका लागि आफूहरूले दबाब दिंदैआए पनि पार्टी नेतृत्वमा विद्यमान पितृसत्तात्मक सोचका कारण माग पूरा हुन नसकेको बताइन । नेकपा माओवादीकी नेतृ रेखा शर्माले निष्ठाको राजनीति गर्नेलाई चुनाव लड्नै कठिन भएको भन्दै निर्वाचन प्राणालीमै सुधार आवश्यक रहेको बताइ । माओवादीकै अर्की नेतृ शशी श्रेष्ठले महिलाहरुलाई राष्ट्र निर्माणमा सहभागी नगराउँदा के हुन्छ भन्ने कुरा र विदेशमा महिला नेतृत्वले गरेका सकारात्मक काम नेपाली परिवेशसँग तुलना गरेर पत्रकारले समाग्री तयार पारिदिनुपर्ने बताइन ।

अन्तरपार्टी महिला सञ्जालकी उपाध्यक्ष एवं राष्ट्रिय जनता पार्टी नेपालकी नेतृ पुष्पा ठाकुरले आफूहरूको शान्तिपूर्ण आन्दोलनलाई राजनीतिक दलले कमजोरीका रूपमा लिएको गुनासो गर्दै माग पूरा गर्न आगामी दिनमा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइन । उनले संविधानमै बाध्यात्मक व्यवस्था नराखेसम्म महिलाको अधिकार सुनिश्चित नहुने बताइन । अन्तरपार्टी महिला सञ्जालकी महासचिव एशोदा सुवेदीले आधाभन्दा बढी जनसंख्या भएका महिलाको अधिकार संविधान र अन्य कानूनले सुनिश्चित गरे पनि व्यवहारमा कार्यान्वयन गर्न राजनीतिक नेतृत्वले आनाकानी गर्दै आएको आरोप गाइन । नेकपा (माओवादी केन्द्र) की लक्ष्मी साह, राष्ट्रिय प्रजातन्त्र पार्टीका मीना भेटवाल, नेकपा (माले) का निलम केसीलगायतले पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मनोनयन दर्तामा महिलाको सहभागिता ज्यादै न्यून भएको गुनासो गर्दै दोस्रो चरणको निर्वाचनका लागि हुने मनोनयनमा महिलाको प्रतिनिधित्व क्षतिपूर्तिसहित सुनिश्चित गर्न माग गरे । कार्यक्रममा साझा महिला अभियानकी शर्मिला कार्कीले पहिलो चरणको निर्वाचनका क्रममा प्रत्यक्षतर्फको उम्मेदवारी देखिएको महिला सहभागीले आफूहरुलाई झस्काएको बताइन । महिलाको सहभागीताको सवालमा सञ्चार माध्यमले महत्वपूर्ण रुपमा समाचार सम्प्रेषण गरिदिएको भन्दै उनले पत्रकारहरुाई धन्यवाद पनि दिइन ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०७४