–शम्भु गजुरेल
१० कात्तिक, नुवाकोट । मंसिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको लागि नुवाकोटमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरु चुनावी कार्यक्रममा व्यस्त छन् । नुवाकोटमा चार जना पूर्व मन्त्रीहरु चुनावी मैदानमा उत्रिएका छन् । लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धन उम्मेदवारी दिएका नेताहरु मतदातालाई कसरी आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने दौडमा छन् । पछिल्लो समय नेपाली कांग्रेसमा आवद्ध कार्यकर्ताहरु बढी निराश देखिएका छन् । पार्टीमा लामो समय त्याग गरेका नेता तथा कार्यकर्ताहरुको पार्टीभित्रै मूल्याङ्कन हुन छाडेको कार्यकर्ताहरुको गुनासो छ । यस पटकको निर्वाचनमा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र जगदिश्वर नरसिंह केसी प्रतिनिसभा र प्रदेशसभाका उम्मेदवार छन् । केसीद्वय दाजुभाई हुन । एउटै क्षेत्रबाट केसीद्वयका मात्र होइन, क्षेत्र नं. १ मा डा.रामशरण महत र महतका भतिज रमेश महत पनि चुनावी मैदानमा उत्रिएका छन् । यसका कारण कतिपय कार्यकर्ता नेपाली कांग्रेस सिंगो पार्टी नै परिवारवाद र नातावादतर्फ उन्मुख भएको बताउन थालेका छन् ।
बेलकोटगढी नगरपालिका वडा नं. १२ का बद्रीप्रसाद त्रिपाठी लामो समय नेपाली कांग्रेसको राजनीतिमा संलग्न रहेपनि यस पटक त्रिपाठीले आफ्नो पार्टीप्रति त्याग र मेहनतलाई संवोधन गर्न नसकेको भन्दै प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रदेश क मा आफ्नो स्वतन्त्र उम्मेदवारी दिएका छन । नेपाली कांग्रेस जिल्ला कार्यसमिति नुवाकोटमा दुई पटकसम्म काम गरेका त्रिपाठी जस्ता धेरै कार्यकर्ता पार्टी निति, सिद्धान्त र विधान अनुसार सञ्चालन नभएको बताउन थालेका छन । साविक मदानपुर गाविसका गाउँ इकाई सभापतिसमेत रहेका त्रिपाठीले स्थानीय तहको निर्वाचनमा बेलकोटगढी नगरपालिकाबाट मेयर पदमा दावी गरेका थिए । तर, पार्टीले उनलाई पत्याएन । स्थानीय तहमा बसेर नेपाली कांग्रेसका लागि अहोरात्र खट्ने नेता तथा कार्यकर्ताको मूल्याङ्कन हुन नसकेको उनको दुखेसो रहेको छ । नेपाली कांग्रेस पार्टीमा रहेर केन्द्रमा राजनीतिक गर्नेहरुको वरिपरी घुम्ने, पैसाको पहुँच भएका र अन्य पार्टीबाट आएकाहरुले स्थान जमाउँदै जाँदा पार्टीको संरचना नै ध्वस्त हुने अवस्थामा आइपुगेको त्रिपाठीको ठहर छ ।

त्रिपाठीेले जिल्ला सभापति केसीले कांग्रेसको संगठन बनाउनुको साटो भत्काउने काम गरेको र इमान्दारलाई पाखा लगाउने काम गरेको भन्दै आफूले उम्मेदवारी दिएको बताएका छन । उनले जनमत आफ्नो पक्षमा रहेको भन्दै उम्मेदवारी फिर्ता नलिई अन्तिमसम्म चुनावी कार्यक्रम र मतदाताको माझमा पुग्ने बताए । उम्मेदवारी फिर्ता गराउनका लागि धेरै दवाव आएपनि आफूले फिर्ता नगरेको बताउँदै त्रिपाठीले आफू नेपाली कांग्रेसको कार्यकर्ता भएको र केसी वा महत कसैको दास नभएको प्रतिक्रिया दिए । पार्टी्भित्रको परिवारवाद, नातावाद, धनीमानी, पैसावालालाई काखी च्याप्ने र आफू अनुकुलका व्यक्तिहरु हावी हुने परिपाटीको अन्त्य गर्ने प्रदेशसभाको निर्वाचनमा उम्मेदवारी दिएको उनी बताउँछन । नेपाली कांग्रेसमा लागेर लामो समय विताएका, निष्ठाको राजनीति गर्ने र दुःखको बेला पार्टीको अस्तित्व बचाउनेहरु पार्टीमा निर्धक्कसाथ अघि बढ्ने सम्भावना नदेखेपनि आफूले प्रदेशसभामा उम्मेदवारी दिएको त्रिपाठी बताउँछन । कांग्रेसभित्र धेरै कार्यकर्ताहरु अहिले पनि थिचोमिचो र दुःख झेलिरहेकाहरुलाई आफूलाई विश्वास गरेर जीप चिन्हमा मतदाता गर्ने अपेक्षा उनले गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०७४