७ कात्तिक, काठमाडौँ । काठमाडौंको अत्यधिक व्यस्त स्थानका रुपमा रहेका असन क्षेत्रलाई पनि सवारी साधन निषेध क्षेत्र बनाइने भएको छ । महानगरीय ट्राफिक महाशाखा र त्यस क्षेत्रमा रहेका वडाका प्रतिनिधि तथा व्यवसायीको सहभागितामा असन क्षेत्रलाई पनि सवारीसाधन निषेधित क्षेत्र बनाउन लागिएको हो । त्यसका लागि महाशाखाले महानगरपालिकाका प्रतिनिधि तथा व्यवसायीसँग छलफलसमेत सुरु गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौं महानगरपालिका र ठमेल क्षेत्रमा रहेका विभिन्न व्यवसायी संघ संस्थाको सक्रियतामा यही कात्तिक ५ गतेदेखि ठमेल क्षेत्रलाई सवारी साधनमुक्त क्षेत्र बनाउने अभियान सुरु गरिएको थियो । महाशाखाका प्रमुख सर्वेन्द्र खनालले ठमेल क्षेत्रमा चलाइएको अभियान केही हदसम्म सफल भएपछि असन क्षेत्रलाई पनि ठमेल क्षेत्रजस्तो बनाउन लागिएको जानकारी दिए । ठमेल क्षेत्रभित्र घर भएका घरधनी र व्यवसाय गर्ने व्यवसायीलाई ठमेलभित्र भित्रिनका लागि प्रवेश पास वितरण गर्ने कामसमेत सुरु भएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०७४