६ कात्तिक, गोरखा । गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईको नेतृत्वमा देशमा सम्बृद्धि नआउने स्पष्ट पारेका छन । श्रेष्ठ र भट्टराई गोरखा २ बाट चुनावी प्रतिष्पर्धामा छन । सदरमुकाममा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले भन्नुभयो, “बाबुरामजीलाई वाम गठबन्धनमा हामीले नै सामेल गरौँ भनेर सहभागी गराएका थियौँ । उहाँकै प्रवृत्तिले छाड्नुपरेको हो । नारायणकाजीले गर्दा उहाँ वाम गठबन्धनबाट बाहिरिएको भन्ने सत्य होइन ।” गोरखा २ वामपन्थी क्रान्तिकारीको किल्ला भएको, संगठन राम्रो भएको, वाम गठबन्धनले गर्दा कार्यकर्तामा उच्च मनोबल रहेको र कार्य्दिशा स्पष्ट भएकाले आफूले निर्वाचन जित्ने श्रेष्ठले दाबी गरे । नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलमात्र नभई पार्टी पनि एकता गर्ने सहमति भइसकेको श्रेष्ठले बताए । पर्यटन, शिक्षा, जडीबुटी व्यवस्थापन गर्दै गोरखा विकासमा नमूना जिल्ला बनाउने दावी गरे ।
प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०७४