२८ असोज, काठमाडौँ । सविधानसभाबाट रुपान्तरित संसदको अन्तिम बैठक आज बस्दैछ । आजै मध्यरातदेखि अवधि समाप्त हुने संसदको शुक्रबारको बैठकलाई नै अन्तिम बनाउने भनिएपनि आज सबै दलका शीर्ष नेताले सम्बोधन गर्नेगरी बैठक बस्न लागेको हो । शनिबारको बैठकमा फोटो खिच्ने, चियापान गर्ने र सांसदलाई बाटो खर्च पनि उपलब्ध गराइने संसद सचिवालयले जनाएको छ । २०७२ असोज ३ गते संविधान जारी भएपछि तत्कालिन संविधानसभालाई नै संसदमा रूपान्तरण गरिएको थियो । प्रतिनिधिसभा चुनावको मनोनयनको अघिल्लो दिन संसदको अवधि स्वतः समाप्त हुने संवैधानिक व्यवस्थाअनुसार संसदको आयु आजै मध्यरातदेखि सकिँदैछ । निर्वाचन आयोगले प्रतिनिधि सभा चुनावका लागि समानुपातिक उम्मेदवारको बन्दसूचि बुझाउन आइतबारसम्मको समय तोकेको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २७, २०७४