१६ असोज, काठमाडौँ । सीमा रक्षाका लागि भारतीयसँग लाठी लिएर लडेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका देवनारायण यादव र उनको छोरा अजयलाई भारतीय प्रहरीले पक्राउ गरी अपहरणको मुद्दा चलाएको छ । भारतको सुनौली गएका बेला प्रहरीले अजयलाई पक्रेको र छोरालाई छुटाउन गएका देवनारायणलाई पनि भारतीय प्रहरीले पक्रेर मुद्दा चलाएको हो । हाल देवनारायण र अजयलाई भारतको सुपौल जिल्लाको बीरपुर थानामा राखिएको छ । गत वर्ष सीमा अतिक्रमण गर्दै खाँडो खोलामा बाँध बाध्न आएका भारतीयको प्रतिकार गरेका यादवलाई भारतीयले निगरानीमा राख्दै आएको र अहिले झुठो आरोपमा मुद्दा लगाएको स्थानीयले बताएका छन । देवनारायणका छोरा अजयले भारतीय युवतीसँग हालै बिहे गरेका छन् । केटी पक्षले अपहरण गरेको भन्दै उजुरी गरेपछि यादव बाबुछोरालाई पक्रेर अनुसन्धान थालेको भारतीय प्रहरीको भनाइ छ । तर तिलाठीका बासीन्दाले भने यसलाई भारतीयको अतिक्रमणको विरोध गर्दै आएका यादवलाई फसाउन खोजिएको षडयन्त्रको रुपमा लिएका छन् ।
प्रकाशित मिति: आइतबार, असोज १५, २०७४