११ असोज, काठमाडौँ । नेपालीहरुको महान चाड बडादशैं अन्तर्गत नवरात्रीको सातौं दिन आज देशभर घर–घरमा फूलपाती भित्र्याइँदै छ । घटस्थापनादेखि नै नवरात्री आरम्भ हुन्छ । तर, फूलपातिदेखि विजया दशमीसम्मलाई विशेष रुपमा मनाउने गरिन्छ । देवी कालरात्रीले चण्ड, मुण्ड र रक्तविज नामक राक्षसहरुको वध गरेको दिनका रुपमा महासप्तमी मनाउने गरिन्छ । गोरखा दरवारस्थित कालिका मन्दिरबाट फूलपाती लिएर आएको गुरुजुको पल्टनले त्यसलाई हनुमानढोकास्थित दशैंघरमा भित्र्याउने साइत पारेर टुँडीखेलमा नेपाली सेनाले फूलपाती बढाईं गर्छ । उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रीहरु लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहन्छ । आजै काठमाडौंका नेवार समुदायका घर–घरमा विश्वकर्मा तथा विद्याकी देवी महासरस्वतीको पूजा हुन्छ । त्यस क्रममा पुस्तक, कापी, कलम, ज्यावल, मेसिनरी सामग्रीहरु, कोदाला, हँसियालगायत स्थापना गरी पूजा गरिन्छ । किसानले खेतबाट धानका बाला घरमा भित्र्याएर पूजा गर्ने गर्छन् ।
प्रकाशित मिति: मंगलबार, असोज १०, २०७४