१० असोज, काठमाडौँ । स्वदेशी लगानीमा नै जलविद्युत् आयोजना निर्माण गर्न सकिन्छ भन्ने धारणा स्थापित गराएको चिलिमे जलविद्युत् कम्पनीले ५८५ मेगावाट क्षमताका दुई परियोजनाको अनुमतिपत्र पाएको छ । विद्युत् विकास विभागले चिलिमे कम्पनीलाई गोरखामा आयोजनास्थल रहेको ४२० मेगावाट क्षमताको बूढीगण्डकी प्रोक र बझाङमा आयोजनास्थल रहेको सेती नदी तेस्रोको अध्ययन अनुमति दिएको हो । कम्पनीले हाल रसुवागढी, माथिल्लो सान्जेन, सान्जेन, मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । ती आयोजना सन् २०१८ को डिसेम्बरसम्ममा निर्माण गरिने भएका छन् । रसुवागढी १११ मेगावाट, मध्य भोटेकोशी १०२ मेगावाट, माथिल्लो सान्जेन १४।८ मेगावाट र सान्जेन ४२ मेगावाट क्षमताका आयोजना हुन् । ती आयोजना सम्पन्न भएपछि कम्पनीले कुन आयोजना निर्माण गर्ने भन्नेबारेमा अन्यौलमा थियो । कम्पनीले निर्माण गरिरहेका र अध्ययन अनुमतिपत्र पाएका आयोजनाको कुल क्षमता ८५५ मेगावाट हुनेछ । शेयर बजारमा समेत चिलिमे जलविद्युत् कम्पनीको शेयर उच्चस्थानमा छ । नेपाल स्टक एक्चेन्जका अनुसार हाल चिलिमेको प्रतिकित्ता शेयर मूल्य रु ७९८ पुगेको छ । नागरिकलाई जलविद्युत् क्षेत्रमा लगानी गर्दा फाइदा हुन्छ भन्ने विश्वास दिलाउन सफल कम्पनीले विभागबाट अनुमतिपत्र पाएपछि अध्ययनको काम यही दशैँलगत्तै शुरु गर्ने जनाएको छ । यस्तै १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोशी, साढे ४२ मेगावाटको सान्जेन र १४।८ मेगावाटको माथिल्लो सान्जेन अहिले निर्माण भइरहेका छन् ।
प्रकाशित मिति: सोमबार, असोज ९, २०७४