काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहाललाई राष्ट्रिय सम्मानकासाथ अन्त्येष्टि गरिने भएको छ।
आज (बुधबार) बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दाहाललाई राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
‘दिवंगत सीता दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरूप नेपाली सेनाको २ सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकुटीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको छ,’ मन्त्री शर्माले जारी गरेको शोक वक्तव्यमा उल्लेख छ।
दाहालको ६९ वर्षको उमेरमा आज बिहान असामयिक निधन भएकोप्रति आकस्मिक बैठकले गहिरो शोक प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ।
वि.सं. २०२८ सालदेखि नेपाली कम्युनिष्ट आन्दोलनमा आबद्ध रही समाज रूपान्तरणका लागि भएका सशस्त्र सङ्घर्षलगायतका आन्दोलनहरूमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी स्वर्गीय दाहालको निष्ठा, त्याग र सङ्घर्षमय जीवनका उदाहरणीय पक्षलाई सबैले आत्मसात् गर्न सक्नु उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास नेपाल सरकारको रहेको शर्माले बताइन्।
बुधबार बिहान ८:३३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएकी दाहालको पशुपति आर्यघाटमा दिउँसो २ बजे दाहसंस्कार गरिने प्रचण्डको सचिवालयले जनाएको छ। दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिएको छ।
प्रकाशित मिति: बुधबार, असार २७, २०८०