काठमाडौँ । नेकपा (एमाले)का सांसद रघुजी पन्तले एमाले सरकार बनाउन नहतारिने तर मौका आए नछोड्ने बताएका छन् ।
आइतबार संसदबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै पन्तले सरकारको अहिलेको काम कारबाहीसँग जनता सन्तुष्ट नभएकाले जनताको चाहना एमाले र नेपाली कांग्रेसको सरकार रहेको दाबी गरे ।
‘यो गठबन्धनको सरकार हामीले गिराउनै पर्दैन । उहाँहरूको अन्तरविरोधबाटै सरकार ढल्छ । अहिलेको सरकारको जुन खालको पर्फमेन्स छ, परराष्ट्रमामिलादेखि घरेलुमा र जनतालाई सुविधा दिने कुरामा यो सरकार प्रभावकारी बन्न नसक्दा जनतामा बलियो प्रभावकारी सरकार आओस् भन्ने चाहना छ । एमालेले सरकार बनाउन हतारिनु हुँदैन, मौका आए छोड्नु हुँदैन, ’उनले भने ।
सांसद पन्तले बजेट परिवर्तन हुने सम्भावना नरहेको पनि बताए । उनले नीति कार्यक्रम र बजेट फेल भए सरकार फेल हुने अहिलेसम्मको मान्यता रहेको पनि बताए ।
‘अहिलेसम्मको प्रचलित कुरा के हो भने नीति कार्यक्रम फेल भयो भने र बजेट फेल भयो भने सरकार फेल हुन्छ भन्ने मान्यता छ, त्यो मान्यतालाई फेर्ने प्रयत्न गरेको, सरसल्लाह गरेको जस्तो त लाग्दैन । बजेटमा परिवर्तन पनि हुँदैन । बजेट पास गरिसकेपछि परिवर्तन गर्नुहोला त्यो उहाँहरूको कुरा भयो । तर सामान्यतया संसद्बाट पारित गरेको बजेट हेरफेर गर्न नमिल्ने हो, ’पन्त भन्छन् ।
प्रकाशित मिति: आइतबार, असार १०, २०८०