काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले शनिवार चालूतर्फ ६ खर्ब ७८ अर्ब ६१, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड, वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड र वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन् ।
सरकारले बजेट स्रोतको रुपमा आगामी वर्ष १० खर्ब २४ अर्ब राजस्वबाट उठाउने लक्ष्य राखेको छ। यस्तै, ६३ अर्ब ३७ करोड अनुदान आउने अनुमान गरेको छ। तीन खर्ब नाै अर्ब रुपैयाँ वैदेशिक ऋण र दुई खर्ब ५० अर्ब रुपैयाँ आन्तरिक ऋणबाट स्रोत व्यवस्थापन गर्ने लक्ष्य राखेको छ।
यसपालि सबभन्दा धेरै शिक्षा क्षेत्रमा बजेट विनियोजन गरिएको छ। सरकारले शिक्षामा १ खर्ब ८० अर्ब रुपैयाँ बजेट छुट्याएको छ।त्यस्तै गरी स्वास्थ्यमा १ खर्ब २२ अर्ब बजेट बिनियोजन गरिएको छ।
सरकारले प्रतिनिधि सभा र स्थानीय तह निर्वाचनका लागिसमेत आवश्यक बजेट बिनियोजन गरेको अर्थमन्त्री पौडेलले उल्लेख गरेका छन्।
बजेटमा समेटिएका धेरै कार्यक्रम आउँदो निर्वाचनलाई लक्ष्यित गरेर ल्याइएका छन्। कोरोना महामारीसँग जुध्ने बजेट ल्याउने घोषणा गरेका अर्थमन्त्री पौडेलले निर्वाचनमा राजनीतिक लाभ लिने प्रमुख उद्देश्य बजेटमा राखेको देखिन्छ।
हेर्नुहोस पूर्णपाठ
प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८