काठमाडौं : पछिल्लो समय धेरै युवाको रोजाइ विदेश बन्दै गएका बेला कतिपय भने स्वदेशमै केही गर्न चाहिरहेका छन् । वैदेशिक रोजगारीबाट फर्किएका अधिकांश युवा सहुलियत कर्जा लिएर उद्यमी बन्न आकांक्षी देखिएका हुन् ।
स्वदेशमै रहेका युवा पनि विभिन्न दलालहरूबाट लुटिएर भए पनि विदेसिएका प्रशस्त उदाहरणहरू छन् । तर कमाउने आशा बोकेर विदेश गएका केही युवा भने स्वदेशमै केही गर्नुपर्छ भन्ने मान्यताका साथ स्वदेश भित्रिरहेका छन् ।
वैदेशिक रोजगार बोर्डमा सूचीकृत भएकामध्ये सबैभन्दा बढी युवाले उद्योग/व्यवसाय गरी स्वरोजगार हुन चाहेको जनाइएको छ । बोर्डले सहुलियत कर्जाका लागि वैदेशिक रोजगारीबाट फर्केका १८ हजार सात सय ६७ युवालाई सूचीकृत गरेको छ ।
आवेदन दिएकामध्ये चार हजार सात सय ४७ युवाले कुनै न कुनै प्रकारको उद्योगधन्दा स्थापना गरी स्वरोजगार बन्ने र रोजगारीका अवसर सिर्जना गर्ने प्रस्ताव पेस गरेका थिए ।
उनीहरूले उद्योग व्यवसाय अन्तर्गत मोटरसाइकल, गाडी मर्मत वर्कसप, फेन्सी, किराना, इलेक्ट्रिक, हार्डवेयर, होटल व्यवसाय, प्रेस सञ्चालन, राइस मिल स्थापना गरी स्वरोजगार बन्ने आकांक्षा देखाएका हुन् ।
तीन हजार सात सय ११ जनाले यातायात व्यवसायमार्फत् स्वरोजगार हुन चाहेको प्रस्तावित व्यावसायिक योजनामा उल्लेख गरेका छन् । यसअन्तर्गत ट्याक्सी, ट्रिपर, बस, जीप, अटो र पर्यटक बस सञ्चालन आदि जस्ता योजना प्रस्ताव गरेका छन् ।
पशुपालन तथा कृषिजन्य उत्पादनका लागि पनि युवाको आकर्षण देखिएको छ । दुई हजार छ सय ३७ युवाले कुखुरा, माछा, गाई, चौरी, भैँसी, बाख्रा, बंगुर, सुँगुर, मौरी, टर्की कुखुरा, बट्टाइ चरा, हाँस आदि जस्ता पशुपालन गर्न सहुलियत कर्जा माग गरेको छन् । च्याउ, स्ट्रबेरी, तरकारी, ऊखु, केरा आदि जस्ता कृषि व्यवसायमा लागेर स्वरोजगार हुन चाहने युवाको संख्या दुई हजार २९ छ ।
कर्जा प्रवाह गर्न सिफारिस
सहुलियतपूर्ण कर्जा प्रवाहमार्फत् वैदेशिक रोजगारबाट फर्केका कामदारलाई स्वरोजगार बन्नका लागि सिफारिस गरिएको बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले बताए । बोर्डले सूचीकृत भएका युवालाई सहुलियतको कर्जा प्रवाह गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत सरकारसँग सिफारिस गरेको छ ।
नेपाल राष्ट्र बैंकले परियोजनामा आधारित सहुलियत कर्जा प्रवाह गर्न सम्पूर्ण वाणिज्य बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । सरकारले आव २०७५/७६ को बजेट वक्तव्यमा विदेशबाट फर्केका युवाको सीप प्रमाणीकरण गरी त्यस्ता युवालाई सम्बन्धित व्यवसाय सञ्चालन गर्न परियोजनामा आधारित १० लाखसम्मको ऋण उपलब्ध गराउने घोषणा गरेको थियो ।
६७ प्रतिशतले १० लाखभन्दा बढी कर्जा मागे
सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई विदेशमा सिकेको ज्ञान र सीपको प्रयोग गरी स्वरोजगार हुन चाहने युवालाई परियोजनामा आधारित रहेर १० लाखसम्म सहुलियत कर्जा दिने बताए पनि ६७ प्रतिशत आवेदकले व्यवसाय सञ्चालन गर्नका लागि १० लाखभन्दा बढी कर्जा माग गरेका छन् ।
व्यावसायिक योजनाका आधारमा उद्यम वा स्वरोजगार हुनका लागि कूल सूचीकृत संख्यामध्ये १२ हजार छ सय ६५ ले दस लाखभन्दा बढी रकम प्रस्ताव गरेका छन् । पाँच हजार आठ सय युवाले १० लाख र बाँकी तीन सय दुई जनाले दस लाखभन्दा कम रकमको प्रस्ताव गरेके बोर्डले जनाएको छ । तोकिएको ढाँचामा फाराम भरेर निवेदन दिनेमध्ये व्यावसायिक योजना विस्तृत रूपमा उल्लेख गरी रकम माग गर्ने संख्या अत्यन्त न्यून छ ।
सहुलियत कर्जा माग गर्ने महिलाको संख्या भने निकै कम देखिएको छ । कूल सूचीकृत संख्यामा महिला संख्या आठ सय ९३ र पुरुष संख्या १७ हजार आठ सय ७४ छ । यसैगरी सबैभन्दा बढी निवेदन प्रदेश नम्बर ३ बाट परेको छ ।
सबैभन्दा बढी मलेसियाबाट फर्केका कामदारले सहुलियत कर्जा माग गरेका छन् । मलेसियाबाट फर्केका छ हजार चार सय १७, साउदी अरबबाट फर्केका चार तीन सय ९९, कतारबाट फर्केका तीन हजार छ सय १६ र युएईबाट फर्केका दुई छ सय २० युवाले कर्जा लिन चाहेका छन् ।
त्यसैगरी आकर्षक गन्तव्य रहेको जापानबाट फर्केका युवाले पनि स्वदेशमै उद्यम गर्नका लागि कर्जा माग गरेका छन् । जापानबाट फर्केर व्यवसाय गर्न चाहने युवाको संख्या ३९ छ ।
प्रकाशित मिति: सोमबार, जेठ १३, २०७६