उत्पादनमूलक वस्तु प्रवर्द्धन गरी निर्यातमुखी अर्थतन्त्र अवलम्बन गर्न नसक्दा नेपालले बर्सेनि अर्बौं रुपैयाँको व्यापार घाटा व्यहोर्दै आएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो आठ महिनामा व्यापार घाटा करिब २४ प्रतिशतले वृद्धि भई आठ खर्ब ८७ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ ।
पछिल्लो समय मुलुकमा विभिन्न वस्तु तथा सेवाको आयात बढ्दै गएको तथा सोही अनुपातमा स्वदेशी उत्पादन निर्यात हुन नसकेका कारण व्यापार घाटा चुलिएको हो । नेपालमा विदेशी वस्तु तथा सेवा मुख्य गरी भारत, चीन तथा तेस्रो मुलुकबाट आयात हुने गर्छ । निकासी व्यापारमा पनि आयातीत मुलुकका अतिरिक्त बङ्गलादेश, बेलायत, संयुक्त राज्य अमेरिका, जर्मनी, टर्की, प्रान्स, इटाली, जापान, क्यानडा, अष्ट्रेलिया, डेनमार्कलगायत देशमा नेपाली उत्पादन आपूर्ति हुने गरेको छ ।
कूल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ६ प्रतिशत र ९४ प्रतिशत रहेको छ । समीक्षा अवधिमा देशको कूल निकासी १५.३ प्रतिशतले वृद्धि भई ६१ अर्ब २२ करोड तथा कूल पैठारी २२.९ प्रतिशतले वृद्धि भई नौ खर्ब ४९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको पहिलो आठ महिनामा निकासी पैठारी व्यापारको अनुपात १.१५ प्रतिशत रहेकामा चालू आवको सोही अवधिमा यसको अनुपात १.१६ प्रतिशत पुगेको छ ।
चालू आवको प्रथम आठ महिनामा नेपालबाट निकासी भएका प्रमुख वस्तुमा पोलिष्टर तथा अन्य धागो, फलामजन्य उत्पादन, ऊनी गलैँचा, तयारी पोसाक, जुट तथा त्यसबाट बनेका सामग्री, पश्मिना, चिया, जीआई पाइप, जुस, अलैँची, जडीबुटीलगायत रहेका छन् । यसैगरी चालू आर्थिक वर्षको पहिलो आठ महिनामा पेट्रोलियम पदार्थको आयातमा करिब ३६ प्रतिशतले वृद्धि भई एक खर्ब ३७ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।
सवारी साधनका अतिरिक्त भौतिक पूर्वाधारको निर्माण तथा विकास परियोजनामा पेट्रोलियम पदार्थको प्रयोग बढेका कारण यसको आयातसमेत बढेको केन्द्रले जनाएको छ । स्टिल तथा तिनका उत्पादनको आयातमा ३३.७ प्रतिशतले वृद्धि भई एक खर्ब १२ अर्ब ४० करोड, यातायातका साधन र तिनका मेसिनरी पार्टपुर्जामा १४.२ प्रतिशतले वृद्धि भई ६४ अर्ब एक करोड, इलेक्ट्रिक तथा इलेक्ट्रिोनिक्स सामग्रीमा ३९.१ प्रतिशतले वृद्धि भई ३६ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । सुनको आयातमा १३.६ प्रतिशतले वृद्धि भई २३ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, औषधिको आयातमा १३.६ प्रतिशतले वृद्धि भई २० अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । अधिकांश आयातीत वस्तु औद्योगिक उत्पादन, मालवस्तु ढुवानी तथा सार्वजनिक यातायातमा खर्च भइरहेको सन्दर्भमा यस वस्तुको आयातले पनि समग्र अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण योगदान गरेको अर्थविद् राधेश्याम मालाकारले बताए ।
व्यापार घाटा न्यूनीकरण गर्न वाणिज्य तथा औद्योगिक नीतिलाई समयसापेक्ष परिमार्जन गर्नुपर्ने, उत्पादन बढाउनका लागि आवश्यक व्यवस्थालाई नीतिमा समावेश गरी कार्यान्वयन गर्नुपर्ने देखिएको छ । करिब ५० लाख युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिन बाध्य भएका कारण स्वदेशमा अधिकांश खेतबारी बाँझा छन्, जसले गर्दा स्वदेशमा उत्पादन हुन सक्ने कृषिजन्य उपज आयात भएको र विप्रेषणबाट आउने रकमको धेरै हिस्सा उपभोग क्षेत्रमा खर्च भएको छ ।
हाम्रो जस्तो विकासोन्मुख मुलुकमा उत्पादन भएका वस्तु तथा सामग्रीको लागत महँगो भई आयातीत सामग्री सस्तो पर्ने हुँदा पनि व्यापार घाटा हुन गएको अर्थविद् मालाकारको दाबी छ ।