काठमाडौं : हिमाल आरोहण शुल्कवापतको राजश्वमा उल्लेख्य सुधार आएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा करिब आठ करोड रुपैयाँले राजश्व वृद्धि भएको हो ।
नेपालका आरोहण गर्नयोग्य हिमालहरू एक हजार ४०० बढी रहे पनि हालसम्म नेपालमा ४१४ हिमालहरू मात्र आरोहण भएका छन् । सबै हिमाल आरोहणका लागि नेपालले पर्यटन विभागमार्फत् शुल्क असुल गर्ने व्यवस्था छ । पर्यटन विभागका अनुसार यस वर्ष आरोही बढेसँगै राजश्व बढेको हो ।
गत आर्थिक वर्षमा हिमाल आरोहण शुल्कवापत ४६ करोड ६१ लाख ६२ हजार ७६ रुपैयाँ राजश्व संकलन भएको थियो । यस चालु आर्थिक वर्षको तथ्याङ्कअनुसार आजको मितिसम्म ५४ करोड ५८ लाख ३५ हजार ५६३ रुपैयाँ राजश्व संकलन भएको हो । यस वर्षको आरोहण कार्य नसकिएको हुँदा राजश्व बढ्नसक्ने पर्यटन विभागका सूचना अधिकारी सुरेन्द्र थापाले बताए ।
पर्यटन विभागको तथ्याङ्कअनुसार उक्त राजश्व रकम सात करोड ९६ लाख ७३ हजार ४८७ रुपैयाँ बढी हो । पर्यटन विभागका सूचना अधिकारी थापाका अनुसार पर्यटकहरू हिमाल आरोहणमा आकर्षित हुँदै गइरहेको तथा आरोहण नभएका नयाँ हिमालहरूप्रति पनि आरोहीहरू आकर्षित भइरहेका छन् ।
यस वर्षको आरोहण तथ्याङ्कअनुसार सबैभन्दा बढी सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि ३८ समूहका ३७० जनाले अनुमति लिएका छन् भने सबैभन्दा कम कंचनजंगा, खाम्बाचेन, लाङटाङ, धौलागिरि, चवुचे हिमाल आरेहणका लागि दुई÷दुई जनाले मात्र अनुमति लिएका छन् ।
पर्यटन विभागका सूचना अधिकारी थापाका अनुसार नेपालमा आरोहण भएका हिमालमध्ये पनि प्रत्येक वर्ष नियमित जस्तो आरोहण हुने हिमालहरू तीन दर्जन हाराहारी मात्र छन् । यस आर्थिक वर्षको स्प्रिङ सिजनमा पनि २७ वटा हिमाल आरोहणका लागि मात्र अनुमति लिएका छन् । यस सिजनमा २७ हिमालको आरोहणका लागि ९९ आरोहण दलका ८२२ जनाले अनुमति लिई त्यसवापतको राजश्व तिरेका हुन् ।
चालु आर्थिक वर्षमा सगरमाथा, कन्चनजंगा, आमादब्लम, अन्नपूर्ण, बरुन्जे, चाम्लाङ, चोयु, लोत्से, नुप्चे, लाङ्टाङ मकालुलगायतका २७ हिमालहरूको आरोहणका लागि अनुमति दिइएको हो ।
प्रकाशित मिति: आइतबार, वैशाख १५, २०७६