लहान : स्वास्थ्य बीमा कार्यक्रमप्रति सिरहाका सर्वसाधारण उत्साहित भएका छन् । गत फागुन २ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ ।
स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि स्वास्थ्य बीमा बोर्ड लहान शाखाले जिल्लाका सम्पूर्ण स्थानीय तहका वडामा सहजकर्तामार्फत प्रचारप्रसारसँगै बीमितहरुको नाम दत्र्ताको कार्य शुरु गरेको हो ।
स्थानीय तहका सम्पूर्ण वडामा बीमितको नाम दर्ता शुरु गरेपछि नाम दर्ता गराउन सर्वसाधारणको भिड लाग्न थालेको स्वास्थ्य बीमा बोर्ड शाखाले जनाएको छ । प्रत्येक वडामा एक/एक सहजकर्ता परिचालन गरी बीमाको महत्व, यसको प्रक्रिया र बीमा कार्यक्रमबाट प्राप्त हुने सुविधाका बारेमा प्रचारप्रसार गर्नुका साथै बीमा गराउनेको नाम दर्ताको कार्य भइरहेको बीमा अधिकारी भोगेन्द्र साहले जानकारी दिए ।
सहजकर्तामार्फत दर्ता भएको बीमितको नामलाई यही महिनाबाट कम्प्युटरमा दर्ता गर्न शुरु गरिएको र अहिले नाम दर्ता हुने बीमित्तले आउँदो जेठ महिनाबाट बीमा सेवा पाउने साहले बताए। पाँचजनाको परिवारले वार्षिक रुपमा प्रतिपरिवारले दुई हजार ५०० रूपैयाँको प्रिमियम तिरे स्वास्थ्य उपचारवापत वार्षिक रु ५० हजारको स्वास्थ्य बीमा पाउने व्यवस्था छ । पाँचजना भन्दा बढी सदस्य भएमा प्रति थप सदस्यले वार्षिक ४२५ रूपैयाँका दरले थप प्रमियम तिर्नुपर्ने र सुविधा १० हजार रूपैयाँ थपिने छ ।
-रासस
प्रकाशित मिति: बुधबार, चैत ६, २०७५ १८:१३