कञ्चनपुर ः कञ्चनपुरको भीमदत्तनगरबाट जातीय छुवाछूत अन्त्यका लागि भन्दै पैदल यात्रा सुरु भएको छ । होमराज आचार्य र अशोक दर्नालले कञ्चनपुरको भीमदत्तनगर बजारको मदन चोकबाट आइतबारदेखि ‘नेपाल पैदलयात्रा २०७५’ सुरु गरेका हुन् । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले पैदलयात्राका सहभागीलाई फूलमाला र खादा ओढाई ब्यानरमा हस्ताक्षर गरेर यात्रा शुभारम्भ गरे ।
जातीय छुवाछूत अन्त्यका लागि पैदल यात्रमामा सहभागी दुवैलाई स्वागत गर्दै व्यावहारिक रूपमा जातीय छुवाछूत अन्त्यका लागि आफूहरू पनि प्रतिबद्ध रहेको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताए । यात्रामा सहभागी हुने आचार्य र दर्नाललाई बाजा गाजासहित भीमदत्त नगर बजार परिक्रममा गराइएको थियो । सो यात्रामा सहभागीद्वयलाई वेदकोट नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका बासिन्दाले स्वागत समेत गरेका थिए ।
सामाजिक न्यायका लागि पश्चिमको कञ्चनपुरबाट सुरु गरिएको पैदलयात्रा ४५ दिन लामो हुनेछ । १ हजार ३२१ किलोमिटर पैदलयात्रा गरी गाउँगाउँमा पुगेर विभेदबारे सचेतना फैलाउने र विभेदको कारणबारे स्थानीय बासिन्दासँग छलफल गरिने जनाइएको छ । पदयात्राको क्रममा सामान्य नागरिकदेखि, गाउँपालिका प्रमुख, प्रशासन, विद्यालय, सार्वजनिक ठाउँमा पुगेर जातीय उत्पीडनमा परेकाको कथा सुन्दै जनचेतना जगाइने पैदलयात्रीद्वयले बताए ।
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५ ११:५१