घूस लिएको आरोपमा दाङका ‘पत्रकार’ सुनिल न्यौपाने पक्राउ परेका छन् । सवारी साधनको चेकिङमा रहेका प्रहरी हवल्दार पूर्ण आकाश सिप सिंहको घूस लिएको भिडियो बनाई मोलमोलाई गरेको आरोपमा न्यौपाने र सिंहविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो । दुवै जनामाथि १ लाख ५ हजार २ सय रुपैयाँ बिगो मागदाबी छ ।
घोराही उपमहानगरपालिका उखुबारी सडकखण्डमा प्रहरी हवल्दार सिंह सवारी साधनको चेकिङमा थिए । बिनाकागजात मोटरसाइकल हाँकेर हिँडेका आफूलाई पत्रकार बताउने न्यौपाने चेकिङमा परे । उनले दुई सय रुपैयाँ घूस दिएर मोटरसाइकल छुटाए । अनि त्यस क्रममा गोप्य रुपमा भिडियोसमेत खिचे ।
भिडियो खिचेका न्यौपानेले पछि त्यही भिडियो देखाई १ लाख रुपैयाँ घूसको मोलमोलाई गरे । त्यसपछि अख्तियारमा समेत उजुरी पर्यो । न्यौपानेले घूस लिएको विषयलाई पत्रपत्रिकामा प्रकाशन नहुने सुनिश्चिततासहित तत्काल ५ हजार रुपैयाँ लिएको अख्तियारले जनाएको छ । त्यसपछि उनले ५० हजार रुपैयाँको चेक लिए भने थप ५० हजार रुपैयाँ नगदै लिए । त्यसपछि अख्तियार टोलीले दुवैलाई पक्राउ गरी भ्रष्टाचारको आरोपमा छानबिन गरेको हो । दुवै जनामाथि शुक्रबार विशेष अदालतमा मुद्दा दायर भएको अख्तियारले जनाएको छ
।