चितवन : पूर्व पश्चिम राजमार्गअन्तर्गत टिकौली जंगल छेउमा रहेको सडक बोर्ड नेपालको ढाटमा आगजनी र तोडफोड गरेको आरोपमा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी बुधबार पूर्वी चितवनबाट पक्राउ परेका छन् ।
प्रहरीको फरार सूचीमा रहेका रेग्मी बुधबार दिउँसो पक्राउ नगर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले कानुनअनुसार प्रक्रिया अगाडि बढ्ने बताएपछि त्यहीबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
पूर्वी चितवनका स्थानीयले दैनिक आवतजावत गर्ने बाटोमा सडक दस्तुर संकलन गर्ने ढाट राखिँदा पटकपटक कर तिर्नुपर्ने र अनावश्यक दुःख पाइरहेको भन्दै ढाट सार्न माग गर्दै गत जेठ ३ गत्ते विरोध गरेका थिए।
एक समूहले ढाटमा पेट्रोल छर्केर आगजानी प्रयास गरेकाे थियाे । सो क्रममा ड्युटीमा रहेकी प्रहरी सहायक निरीक्षक कल्पना खड्का जलेर गम्भीर घाइते भएकी थिइन् । उनको अहिले भरतपुरमा उपचार भइरहेको छ।
आगजनी, तोडफोडसँगै रकम लुटिएको भन्दै सडक दस्तुर सङ्कलनको ठेक्का पाएको ब्रिटानिक मौलाकालिका कन्ट्रक्सन प्रालिका अध्यक्ष अमृत भट्टचनले रेग्मीसहितका व्यक्तिको नाममा किटानी प्रहरीमा उजुरी दर्ता गरेका थिए।
घटना समयमा खिचिएको भिडियोका आधारमा पहिचान गरी संलग्नहरुलाई पक्राउ गरिएको र अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले प्रदेश सांसद कृष्ण खनालको पनि संलग्नता रहेको भन्दै तीव्र आलोचना भएपछि खनालले घटनामा आफ्नाे संलग्नता नरहेको भन्दै विज्ञप्ति जारी गरेका छन्।
यसअघि पक्राउ गरेका रेष्टुरेन्ट एण्ड बार एशोशिएसन सौराहाका अध्यक्ष गोकर्ण गिरीसहित तीन जनालाई भने मंगलबार धरौटीमा छाडिएको छ।