प्रतिक पौडेल, रुपन्देही । यतिबेला महिला हिंसा विरुद्धको १६ दिने अभियान विश्वव्यापी रुपमा चलिरहेको छ । यो अभियानका क्रममा नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो अभियान उत्सवकै रुपमा मनाइने गरिएको छ ।
अघिल्ला वर्षहरुजस्तै यो वर्ष पनि विभिन्न गैरसरकारी संस्थाहरुले महिला अधिकारका लागि कार्यक्रमहरु गर्दै आएका छन्, उनीहरुकै नेतृत्वमा यो वर्ष पनि कार्यक्रम जारी छन् । यतिबेला महिला अधिकारकर्मीहरुलाई भ्याई नभ्याई छ । चर्का भाषण गर्ने, तथ्यांकहरु संकलन गर्ने प्रतिवेदन तयार गर्नेदेखि कार्यक्रम आयोजनाका लागि आवश्यक तयारी गर्न फुर्सद नै छैन, विशेषगरी अगुवा महिलाहरुलाई ।
महिला हिसां विरुद्ध यसरी अभियान चलिरहेका बेला नेपाल प्रहरीको महिला सेलमा पुग्ने हो भने हामीले यो अभियानको प्रभावकारिता ठम्याउन सक्छौं । यस्तै अभियान चलिरहेका बेला जिल्ला प्रहरी कार्यालय रुपन्देहीको महिला सेलमा आएको एउटा मुद्दाले यस कार्यक्रममाथि प्रश्न उठाइरहेको छ ।
रुपन्देही तिलोत्तमा ८ घर भएकी टुकमाया राना उमेरले ३७ बर्ष पुग्दै छिन् । उनकी एक छोरी २० वर्षकी भइन् । उनले २०५५ साल असोज १८ गते गाउँमै २२ बर्षीय हरि न्यौपानेसँग विवाह गरिन् । तर, १७ बर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी टुकमायाको जीवन हिंसा, दुःख र पीडामा बितेको २० बर्ष नै पुग्यो ।
विवाह गरे देखि नै हरि न्यौपानेकी आमा पूर्णकला न्यौपानेबाट जनजाति महिला भएका कारण हिंसा सहदै आएकी टुकमायाले १ बर्ष गोठमा बसेर छोरी त जन्माइन् तर सुत्केरी भएको अवस्थामा उनी घर बाट नै बाहिरिनु पर्यो ।
उनले साबिकको मक्रहर गाविस वडा नं ४ का अध्यक्ष खेमप्रसाद तिवारी र वडा सदस्य कुन्ती चौधरीको रोहबरमा विवाह गरेकी थिइन् । उनको बिहेपछि गरिएको कागजमा खेमप्रसाद तिवारी लगायत १३ जनाको हस्ताक्षर पनि रहेको छ ।
गर्भवती अवस्थामा उनलाई खाने कुरा दिएका भाँडा माझेर लैजादा पनि सासुले सुनपानी छर्किएर मात्रै भित्र राख्थिन् । यसरी बिहेपछी सासु पूर्णकलाका कारण गोठ जीवन बिताउदै घरबाट बाहिर निकालिएर तत्कालीन वडा सदस्य कुन्ती चौधरीको घरमा बस्न बाध्य भएकी टुकमाया भन्छिन्, ‘राति १० बजे हरी आमाको डरले लुकेर आउने गथ्र्यो र बिहानै ४ बजे उठेर जाने गथ्र्यो ।’
यसरी ३ महिनासम्म वडा सदस्य कुन्ती चौधरीकोमा बसेपछी गाउँलेको दबावमा फेरि श्रीमानको घर गएकी टुकमाया गोठमा नै जीवन बिताउन थालिन् । सासुले घरमा काम गर्न राखेको मान्छेभन्दा बढी काम गराएर छोरालाई पनि भारत पठाएर ८ महिनासम्म कजाएकी थिइन् ।
उज्यालो बत्ति समेत नभएको पानी चुहिने गोठमा १० महिना बिताएपछि ८ महिनाकी छोरी च्यापेर उनी माइत गइन् । माइतै बसेर विभिन्न श्रमका काम गर्दै छोरी हुर्काइन् र छोरीलाई १२ कक्षा सम्म पढाइन् ।
उनको जीवनमा अझै पनि आँधीबेहरी आउने क्रम रोकिएन । छोरीले कक्षा १२ मा अब्बल अंकसहित उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययनका लागि क्याम्पस पठाउने बेला छोरीका नागरिकता थिएन । नागरिकता बनाउन छोरीलाई आमा चाहिने अनि आमालाई श्रीमान् । श्रीमानले अर्कै विवाह गरेका छन् । उनी अहिले आएर टुकमाया र छोरीलाई आफ्नो मान्न नै तयार छैनन् ।
यसरी टुकमायालाई छोरीको नागरिकताको लागि श्रीमान्को आवश्यकता परेपछि अहिले मुद्धा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा आएको छ । टुकमायाका श्रीमान् हरि अहिले बहुबिवहाको मुद्धामा थुनामा छन् ।
टुकमाया भन्छिन्, ‘मलाई छोरीको भविष्यले हरि न्यौपाने खोज्न बाध्य बनायो । अहिले सम्म त मजदुरी गरेर भएपनि छोरीलाई राम्रो विद्यालयमा पढाएकै थिए ।’
उनीहरुको विवाहको साक्षी रहेकी तत्कालीन वडा सदस्य कुन्ती चौधरी भन्छिन्, ‘टुकमाया गर्भवती भएपछि बिहे गरेर कागज गराएकै हामीले हो । आज आएर अस्वीकार गर्नु अपराध हो ।’
जिल्ला समन्वय समिती सदस्य तिलोत्तमा ७ निवासी जमुना लम्साल भन्छिन्, ‘टुकमाया र उनकी छोरीको नागरिकता बनाउन र हरि न्यौपानेलाई सजाय दिलाउनबाट हामी पछि हट्ने छैनौ टुकमायाले न्याय पाउने छिन्, अधिकार पाउने छिन् ।’
सबै कागज पत्र तिलोत्तमा नगरपालिकाबाट बिहे प्रमाणित सिफारिस, जन्मदर्ता सिफारिस हुँदा पनि न्यौपानेले स्वीकार नगर्दा छोरीले देशको नागरिक भएर पाउनु पर्ने अधिकारनै पाउन सकेकी छैनन् ।
टुकमाया हरि न्यौपानेले बिहे दर्ता गरेर छोरीलाई नागरिकता बनाएर छोरीले पाउनु पर्ने अधिकार दिनुपर्ने माग गर्दै न्यायको खोजीमा छिन् ।
जातीय भेदभावले हाम्रो समाज साँघुरिदै गएको छ । घटना २० बर्ष पुरानो भएपनि त्यही जातीय भेदभावले एउटी किशोरी देशको नागरिक हुन र उच्च शिक्षा पाउनबाट बन्चित बन्ने अवस्था सिर्जना भएको छ । राज्यले यस्ता पीडित नागरिकको हकमा काम नगरेसम्म जति नै समृद्धिको कुरा कुरा गरे पनि जनताका आधारभूत समस्या समाधानमा कठिनाई आइ नै रहन्छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०७५ १९:१६