काठमाडौं । नेपालीहरुको महान चाड दशैं र तिहार सकिएसँगै अर्काे ठूलो चाड छठ पर्वको रौनक सुरु भएको छ । विशेष गरेर तराईवासीले कात्तिक शुक्ल चतुर्थीदेखि विधिवत रूपमा सुरु गरी चार दिनसम्म यो पर्व हर्षोल्लासका साथ मनाउने गर्दछन् ।
मिथिला संस्कृतिमा आधारित छठ पर्व २०४६ सालपछि काठमाडौँलगायत पहाडमा पनि मनाउन थालिएको हो । सोही बेलादेखि नै सरकारले यस पर्वको मुख्य दिन अर्थात् कात्तिक शुक्ल षष्ठीमा सार्वजनिक विदा दिदै आएको छ ।
कसरी मनाइन्छ ?
छठको पहिलो दिन व्रतालुले खोला, नाला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा गई सूर्यदेवको आराधना, उपासना र पूजा गर्दै स्नान गरी चोखो खाएर बसिन्छ । छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो आदि खान नहुने धार्मिक मान्यता छ । सप्तमीको बिहान यो पर्वको समापन गरिन्छ ।
पञ्चमी तिथि (दोस्रो दिन) लाई ‘खरना’ (संरक्षण अर्थात् पापको क्षय) भनिन्छ । खरना छठ पर्वको अघिल्लो दिन भएकाले यो दिन व्रतालुहरू दिनभरि निर्जला व्रत बस्छन् र साँझपख नुहाएर चोखो भई आफ्नो कुल देवता स्थापना गरेको पूजा कोठामा नयाँ चुल्हो स्थापना गरी प्रसाद बनाउने गरिन्छ ।
षष्ठीका दिन पक्वान्न, फलफूल र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ । साँझपख बत्ती बालेर माटाको घडाको साथ नदी वा तलाउका किनारमा बसेर गीत गाइने र डुब्न लागेका सूर्यलाई अघ्र्य दिई प्रणाम गरिन्छ । अघ्र्य दिएपछि तीनपटक पानीमा डुबुल्की मारेर मनोरञ्जनका साथ त्यहीँ रात बिताइन्छ ।
सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान ४ बजेबाटै प्रतीक्षा गरिन्छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिइन्छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ ।
छठसम्बन्धी जनविश्वास
पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता र सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रूपमा मानी विशेष पूजा गर्ने गरिएको जनविश्वास रहीआएको छ । पौराणिक कालमा छठीमाताले सूर्यदेवलाई खुशी पारेकीले यो पर्व मनाउन थालिएको धार्मिक विश्वास समेत रहेको छ ।
यस्तै, महाभारतकालमा द्रौपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेका र सो पूजाका प्रभावले अज्ञातवास सफल भएको जनविश्वास समेत पाइन्छ । अर्काेतर्फ, सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले गरेको छठ व्रतको फलस्वरूप उनको अटल सौभाग्य र पतिबाट सदव्यवहार हुन थालेकाले त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात् भएको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०७५ १९:१६