प्रायजसो घरको नजिकै चिहान छ। कसैको घर नजिक थोरै त कसैको घर नजिक धेरै। अंशबण्डा र घरपरिवार छुटफुटसँगै कुल वंशको चिहानस्थल पनि थपिन्छ। जहाँ घर बन्छ, त्यहाँ पनि चिहान थपिने निश्चित छ किनभने मानिस मरणशील प्राणी हो।
कतिलाई अचम्म लाग्न सक्छ, किरात कुलुङ समुदायमा मृत्युपश्चात आफ्नै कोठेबारीमा समाधिस्थ गर्ने चलन छ, जसका कारण प्रत्येक घर नजिक चिहान सामान्य जस्तै मानिन्छ। यो एउटा टोलको कथा होइन, पूरै कुलुङ समुदायका गाउँबस्तीको हो। यस्तैमध्ये एक सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका पनि पर्छ।
महाकुलुङमा ९० प्रतिशत बढी कुलुङ जातिको बसोबास छ। कुलुङ परम्पराअनुसार गाउँमा कसैको मृत्यु भए घर नजिकै आफ्नै बारीमा चिहान बनाएर समाधिस्थ गर्ने गरिन्छ। परापूर्वकालदेखि नै मृतकलाई घर छेउमा गाड्ने चलन हो। आफ्नै निजी जमिनमा दाह संस्कार गर्ने परम्पराका कारण कुलुङ सामुदायको बसोबास रहेका गाउँमा सामूहिक समाधिस्थलको व्यवस्था हुँदैन भने एकान्तमा लैजाने चलन पनि छैन।
शहर बजार र अन्य केही जिल्लामा सामूहिक समाधिस्थलको व्यवस्था भए पनि महाकुलुङमा त्यो अभ्यास सुरु भएको छैन। आदिमकालदेखि चल्दै आएको निजी जमिनको समाधिस्थल परम्पराले पछिल्लो समय भने समस्या हुन थालेको छ। अन्यत्रको हिमाली र पहाडी गाउँहरूमा जनसंख्या घटे पनि महाकुलुङमा भने बढ्दो छ। जनसंख्या वृद्धि र जमिनको खण्डीकरणले बारीमै चिहान राख्ने परम्परामा चुनौती सिर्जना हुँदै गएको नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ सोलुखुम्बुका जिल्ला अध्यक्ष परमध्वज कुलुङ बताउँछन्।
अध्यक्ष कुलुङ यो संस्कारले बारीहरू विस्तारै चिहानघारीमा बदल्दै लगेकामा चिन्तित छन्। उनी भन्छन्, ‘परम्परालाई सिधै हटाउन नमिल्ला तर कसरी हो यसमा सुधार आवश्यक भएको छ। नत्र विस्तारै टोल, बस्ती र गाउँ चिहानमय हुनेछन्। पछिल्लो समय पक्की चिहान बनाउनाले झन् समस्या ल्याएको छ।’
घरबारीमा चिहान बनाउने चलनले खेतीयोग्य जमिन कम हुँदै गएको महाकुलुङका स्थानीय डिल्ली कुलुङले बताए। नक्षत्र हेर्दा जोगिनीले जहाँ भेट्टाउँछ, त्यहीँ चिहान खन्नुपर्ने मान्यताले यहाँ उर्वर जमिनको संकट भएको कुलुङको भनाइ छ। पात्रोअनुसार जोगिनीले नभेटेको ठाउँमा चिहान खन्न हुँदैन भन्ने मान्यता रहँदै आएको छ भने सोहीअनुसार समाधिस्थल बनाइँदै छ।
पुराना पुराना घरको नजिक १०–१२ वटासम्म चिहान हुँदा करेसाबारीकै समस्या भएकाले यो परम्पराबारेमा सोच्ने बेला भएको उनी बताउँछन्। डिल्ली कुलुङको जस्तै धेरैको कुलुङ समुदायले सामूहिक समाधिस्थलबारे सोच्नुपर्ने समय आएको ठम्याइ छ।
नेपालमा अन्य समुदायले पनि लास माटोमा गाड्ने गरेका छन्। सोलुखुम्बुमा मात्रै कुलुङले जस्तै खालिङ, थुलुङ, वाहिङलगायत अन्य किरात समुदायले पनि घरबारीमा मृतकलाई गाड्ने गरेका छन्। तर अरू धेरै समुदायले भने निश्चित स्थानमा सामूहिक समाधिस्थल बनाएका छन्।
कुलुङ जातिको उद्गमस्थल महाकुलुङमा घरकै बारीमा लास दबाउने चलनले विस्तारै समस्या खडा गर्दै गएको छ। कुलुङ समुदायले समाधि संस्कार समयसँगै परिवर्तन गर्ने बेला आएको कुलुङ संघका अध्यक्ष कुलुङ जोड दिनुहुन्छ। अहिल्यै सोचेर अगाडि नबढे भविष्यमा थप चुनौती बढ्दै जाने हुँदा बेलैमा सोच्नुपर्ने उनले बताए।
प्रकाशित मिति: बुधबार, १ फागुन २०७५