नरेश न्याैपाने, काठमाडौं । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई विलासी गाडी खरिद गर्ने समाचारहरु बाहिर आउन थालेपछि कम्युनिष्ट पार्टीको संगठन निर्माणको अवधिमा जननेता मदन भण्डारीले चढ्ने साइकलको सम्झना गर्नेहरु बढेका छन् ।
खासगरी नेपाली सेनामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘विलासी’ गाडीको सेट नै खरिद गर्ने निर्णय भएको समाचार पछि सामाजिक सञ्जालमा सत्तासीन नेकपाका कार्यकर्ताहरुले नै जननेता मदन भण्डारीले चढ्ने साइकल र राष्ट्रपति विद्यादेवी भण्डारीले चढ्ने अनुमान गरिएको १८ करोडको गाडीको अनुमानित तस्विर जोडेर तुलना गरिरहेका छन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सर्वसाधारणलाई आतंकित नै पार्ने सुरक्षा व्यवस्था गणतान्त्रिक मुलुकको राष्ट्रप्रमुखलाई नसुहाउने भन्दै टिका टिप्पणी गरेका हुन् ।
सरकारका एक जना उच्च अधिकारीले पनि राष्ट्रपतिको सुरक्षार्थ महँगो गाडी किन्नु कुनै ठूलो कुरा नभए पनि कम्युनिस्ट र सर्वहारा वर्गको नेतृत्व मानिने व्यक्तिले नै विलासितामा जोड दिनु अस्वाभाविक देखिएको बताए ।
नेकपाका एक जना केन्द्रिय सदस्यले भने, कम्युनिष्ट पार्टीमा लामो समय संघर्ष गरेको र समाजवादी नेता हुनुको नाताले राष्ट्रपतिले सकभर त्यस्तो विलासीताको माग नगरेको हुनुपर्ने बताएका छन् ।
ती नेताले, राष्ट्रपतिबारेको समाचार सत्य हो भने, कम्युनिष्ट पार्टीको सर्वहारा वर्गीय विचारधारामाथीको ठुलो प्रहार हुने बताए ।
श्रोतका अनुसार २०७४ असारमै गाडी खरिद प्रक्रिया अघि बढेको र सरकारले त्यति नै बेला राष्ट्रपतिलाई गाडी किन्ने प्रयोजनमै चार करोड रुपैयाँ छुट्याएको बुझिएको छ ।
तर सेनाले सुरक्षाको निम्ति त्यति रकमले नपुग्ने बताउँदै त्यतीबेलै १६ करोड माग गरेको थियो । सरकारले सेनाको सोही माग अध्ययन गरेर अहिले १४ करोड ३० लाख रुपैयाँ निकासा गरेको हो ।
प्रकाशित मिति: शनिबार, मंसिर १, २०७५ १९:१६