काठमाडौं ।आज नेपालमा खण्डग्रास सूर्यग्रहण लाग्दै छ । यो सूर्यग्रहण नेपालसहित भारत,चीन,थाइल्यान्डलगायत एसियाका सबै देश, दक्षिण पूर्वी युरोप, युएई, कंगो, इथोपिया र अफ्रिकाका केही स्थानबाट देख्न सकिने छ ।
नेपालमा १० बजेर ५० मिनेटबाट सुरु हुने सूर्यग्रहण अवराह्न २ बजेर २३ मिनेटमा समाप्त हुने छ । सम्पूर्ण ग्रहण अवधि ३ घण्टा ३३ मिनेटको हुने छ ।
यो खण्डग्रास सूर्यग्रहण पश्चिम तर्फबाट स्पर्श भई पूर्वमा मोक्ष हुने छ । उत्तरी अमेरिका, दक्षिण अमेरिका, अमेरिका महाद्वीप, अस्ट्रेलिया महाद्वीपको अधिकांश ठाउँ, बेलायत, फ्रान्स, इटाली, जर्मनी, स्पेन र अन्य युरोपीय महाद्वीपमा भने यो ग्रहण देखिने छैन ।
नेपालबाट अबको करिब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्यग्रहण देखिने बताइन्छ । सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा सूर्य छेकिन गई चन्द्रमाको छायाँ पृथ्वीमा पर्छ र त्यसलाई नै सूर्य ग्रहण भनिन्छ ।
ज्योतिष नारायणप्रसाद दुलाल ग्रहण एउटा प्राकृतिक घटना भएको भन्दै ग्रहण तथा सूतकबाट भयभित हुन नहुने बताउँछन् । यस खण्डग्रास सूर्यग्रहणले मनुष्यजीवन, जीवजन्तु तथा पर्यावरणमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले ग्रहण तथा सूतकबाट भयभित नभई ग्रहणलाई सम्यक रुपले सकारात्मक पक्षबाट लिन आवश्यक रहेको उनको भनाइ छ ।
धर्मशास्त्रकाअनुसार मेष,सिंह,कन्या,मकर राशिलाई राम्रो रहेको छ भने वृष,मिथुन,कर्कट,तुला,धनु र मीन राशिका लागी यो अवधि राम्रो मानिएको छैन ।
ग्रहणको समयमा हाम्रो घरमा सूर्यको विकिरण तथा नकारात्मक ऊर्जा घरभित्र प्रवेश हुने भएकाले ग्रहणकालमा पकाएर खानेकुरा राख्नुहुँदैन, यसका साथै दूध, दही, घ्यू, पानी, अचार आदि छ भने त्यसमा तुलसीपत्र वा कुश राख्नाले त्यस्ता खानेकुरालाई खराब नगर्ने शास्त्रीय मान्यता छ ।
प्रकाशित मिति: आइतबार, असार ७, २०७७ ०३:३२