काठमाडौं: निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जिल्ला सरकारी वकिल कार्यालयले आज अदालतमा मुद्दा दायर गर्दैछ। प्रहरीले यसअघि कात्तिक ८ गते अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई पेस गरेको थियो।
जिल्ला सरकारी वकिल कार्यालयले बिहीवार अभियोगपत्र दायरको तयारी गरेको छ। प्रहरीले ३ हप्ता लगाएर गरेको अनुसन्धानसहित पठाएको राय अध्ययन गरी मुद्दा चलाउने नचलाउने आज टुंगो लगाइने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जनाएको छ ।
मुद्दा दायर भए आजै जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस सुरु हुनेछ । थुनछेकको बहस नलम्बिए आजै महरालाई धरौटी वा तारेखमा छुट्ने वा पुर्पक्षको लागि थुनामा पठाउने टुंगो लाग्नेछ ।
संसद सचिवालयकी एक कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि महरा १९ असोजमा पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतले महरामाथि अनुसन्धान गर्न यसअघि पहिलो पटक १३ दिन र त्यसपछि ५ दिन म्याद दिएको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १४, २०७६ ०६:३५