काठमाडौंः उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र जापानी राजदूत मासामिची साइगोबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा बुधवार भएको भेटवार्तामा द्धिपक्षिय हितका साथै उर्जा र जलस्रोतको क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो ।
भेटमा मन्त्री पुनले जाजरकोटमा रहेको ४१७ मेगावाटको नलसिंङगाड जलविद्युत परियोजना प्रादेशिक सन्तुलनका हिसावले पनि महत्वपूर्ण रहेको भन्दै परियोजनालाई अघि बढाउने विषयमा छलफल गरे ।
उहाँले जापान र नेपालबीच पुरानो र मैत्रिपूर्ण सम्बन्ध रहेको भन्दै विगतमा कुलेखानी परियोजनादेखि नलगाडसम्म जापानले गरेको सहयोगप्रती धन्यवाद व्यक्त गरे ।
मन्त्री पुनले नेपालको जापान भरपर्दो विकास साझेदार मुलुक भएको भन्दै नेपालमा अहिले लगानीको लागि उपयुक्त वातावरण बनेकोले लगानीको लागि जापानमा सन्देश प्रवाह गरिदिन राजदूत साइगोसंग आग्रह गरे ।
भेटमा जापानी राजदूतले नलसिंङगाड परियोजना जाइकाले पिपिपी मोडेलमा अध्ययन गरिरहेको जानकारी दिए । उहाँले मन्त्री पुनलाई जापान भ्रमणको निम्तो दिंदै सो क्रममा दुई देशको सम्बन्धका साथै उर्जा र जलस्रोतमा गर्न सकिने सहकार्यका विषयमा समेत छलफल गर्ने जानकारी दिए ।
जापानी राजदूतले नेपालको जलविद्युत क्षेत्रमा लगनीका लागि राम्रो वातावरण वनेको सुखद समाचार सुनेको भन्दै जापानमा समेत लगानीका लागि आफूले अपिल गर्ने बताए ।
राजदूत साइगाले भारत र वङगलादेशसंग सहमती भएको क्रस बोर्डर प्रशारण लाइनबारे समेत चांसो व्यक्त गरे । जवाफमा मन्त्री पुनले भारतसंग क्रस बोर्डर टे«डको विषयमा राम्रो वातावरण वनेको र गत वर्ष मात्र ७ करोड र यो वर्ष २५ करोडको विजुली भारतमा निर्यात भएको जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६ २२:१०