काठमाडौं: पर्यटन मन्त्री योगेश भट्टराईले नेपाल वायु सेवा निगम सुधारको लागि पहिलो प्रयास स्वरुप सुझाव कार्यदल गठन गरेका छन् ।
आज बसेको मन्त्रीस्तरीय निर्णयबाट गठन भएको कार्यदलको संयोजक पूर्वसचिव सुशिल घिमिरे रहेका छन् । कार्यदलका अन्य सदस्यहरुमा लेखा विज्ञका रुपमा सुवोधकुमार कर्ण, व्यवस्थापन विज्ञ डिमप्रसाद पौडेल र क्याप्टेन सुधीर शम्शेर राई छन् । पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने कार्यदलको सदस्य सचिव तोकिएका छन्
नेपाल वायुसेवा निगममा विभिन्न पक्षहरुको वर्तमान अवस्था, समस्याहरु र सुधारका उपाय समेत पहिचान गरी एक महिनाभित्र ठोस सुझाव सहितको प्रतिवेदन तथा उक्त सुझावहरुको कार्यान्वयन कार्ययोजना समेत पेश कार्यदल गठन भएको हो ।
नेपाल वायुसेवा निगमको समग्र सुधारका लागि हालसम्म भएका विभिन्न अध्ययन प्रतिवेदनको विश्लेषण गर्न तथा नेपाल वायुसेवा निगमको वर्तमान वित्तीय अवस्थाको अध्ययन गरी प्रतिवेदन पेश गर्नुपर्नेछ ।
साथै तत्कालिन र दीर्घकालीन सुधारहरुको समयबद्ध ठोस कार्ययोजना पेश गर्न र निगमको सुधारका लागि कार्यदलले उपयुक्त देखेका अन्य सुझावहरु दिन सक्ने गरी कार्यदल गठन गरिएको मन्त्री भट्टराईले बताए । साथै अब छिट्टै दक्षिण कोरिया र चीनमा पनि नेपालले हवाई सेवा सञ्चालन गर्ने योजना रहेको बताए ।
त्यस्तै सरकारले स्वदेशमै कम खर्चमा विमानचालक (पाइलट) उत्पादनका लािग उड्डयन विद्यालय (फ्लाइङ स्कुल) स्थापना गर्ने भएको छ । पर्यटनमन्त्री भट्टराईले देशभित्रै पाइलट उत्पादन गर्न र उनीहरुलाई आवश्यक तालिमको व्यवस्था गर्ने उद्देश्यका लागि उडड्यन विद्यालय (फ्लाइङ स्कुल) स्थापना गर्ने योजना रहेको बताए ।
अहिले ५० लाखभन्दा बढी खर्च गरेर पाइलट पढ्न विदेश जानुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले त्योभन्दा कम खर्चमै देशभित्रै पाइलट अध्ययनको व्यवस्था गर्न विद्यालय स्थापना गर्ने सोच बनाइएको स्पष्ट पारे ।
त्यसका लागि सरकारले केही लगानी गर्ने र अन्य निजी वायुसेवा कम्पनीहरुबाट लगानी जुटाउने जनाइएको छ । उनले उड्डयन विद्यालयसम्बन्धी विस्तृत कार्ययोजना केही दिनभित्रै ल्याइने जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, साउन २२, २०७६ १९:३२