काठमाडौं : भारतको रुपैडिया बाट २० लाख नेपाली रुपैयाँसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
रुपैडियाबाट स्कुटरमा नेपालतर्फ आउँदै गरेको अवस्थामा शनिबार २० लाख नेपाली रुपैयाँसहित पवन गुप्ता र कमल गुप्तालाई इलाका प्रहरी कार्यालय जमुनाहको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका दाजुभाइ रहेको र पक्राउ पर्नासाथ नेपालगञ्जको बैंकमा रकम जम्मा गर्न ल्याएको बयान दिएका थिए । तर केही समयपछि साट्न ल्याएको भन्दै बयान परिवर्तन गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।
प्रहरीले घटनामा पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण विभागमा पठाइएको जनाएको छ । सीमापारी रुपैडियामा सबै पसलमा नेपाली रुपैयाँको कारोबार हुने गरेको छ ।
यसरी कारोबार हुँदा नेपाली उपभोक्ताले चलनचल्ती भन्दा बट्टा बापत थप पनि तिर्नुपर्दछ । यसरी जम्मा भएको रकम नेपाल ल्याएको नेपाली व्यवसायीले जनाएका छन् ।
प्रकाशित मिति: आइतबार, असार १, २०७६ २०:३०