काठमाडाैं : जग्गा दलाली गर्ने एक समूहले पिच भएको मूल सडक नै बिक्री गरिदिएको छ । साविक धुलिखेल नगरपालिका-३ (क) को कित्ता नम्बर ६५२ को ३ आना जग्गा धुलिखेल २८ किलोस्थित काठमाडौं विश्वविद्यालय जाने सडक तलको जग्गा देखाएर २२ लाखमा बेचिएको हो । कान्तिपुरमा समाचार छ ।
मालपोतको रेकर्डमा रैकर निजी कायम रहेको उक्त जग्गा नापी कार्यालयले मोटर बाटो भएको प्रमाणित गरेको छ ।
जग्गा बिक्री गर्ने मीना भैल, धुनपा-७ बखुन्डोलका लोकेन्द्र तोलांगे र उनकी श्रीमती सोनुलाई पक्राउ गरिएको अनुसन्धान अधिकृतसमेत रहेका प्रहरी निरीक्षक दीपक रायले जानकारी दिए । उक्त जग्गा ३ पटक बिक्री भइसकेको छ । खरिद गर्ने कृष्णराम दुवाल, लक्ष्मीप्रसाद प्रजापति र प्रवीण बाटीको उजुरी आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
अनुसन्धानमा मालपोत कर्मचारीको पनि संलग्नता देखिएको प्रहरीले जनाएको छ । २०७१ असार २ गते घरबाटो प्रमाणित गरेको कागजपत्रकै आधारमा मालपोतले ३ पटक जग्गा पास गरिदिएको हो । उक्त सिफारिसको कानुनी मान्यता ३५ दिनमात्रै हुन्छ । प्रहरीले मालपोतबाट आवश्यक कागजपत्र माग गरिएको जनाएको छ ।
मालपोत अधिकृत विनोद कोइरालाले कागजपत्र पुगेर आएपछि पास गरिदिएको हुन सक्ने तर्क गरे । ‘कागजपत्र पुगेर आएकाले पास गरिदिएको हुन सक्छ, मालपोतको रेकर्डमा रैकर निजी भन्ने नै छ,’ कोइरालाले भने, ‘यो गम्भीर कुरा भयो, थप अनुसन्धानपछि मात्रै यसबारे भन्न सकिन्छ ।’
उक्त सिफारिसका आधारमा २०७१ असार १२ गते ज्ञानबहादुर मोक्तान र लोकेन्द्र तोलांगे मिजारले सोही जग्गा खरिद गरेका थिए ।
पुरानै सिफारिसका आधारमा दोस्रोपटक मोक्तान र मिजारले २०७३ वैशाख ७ गते ६ लाख ५० हजार मूल्य राखी भक्तपुर-१७ की मीना भैललाई बेचेका थिए । भैलबाट २०७५ असोज ५ गते कृष्णराम दुवाल, लक्ष्मीप्रसाद प्रजापति र प्रवीण बाटीले १२ लाख मूल्यांकन राखी २२ लाखमा खरिद गरेका हुन् । उनीहरूले मालपोतमा ४८ हजार राजस्व बुझाउँदै ५ हजार रुपैयाँ लिखतमार्फत खर्च गरेका थिए । जग्गा दलालको उक्त समूहले पटकपटक वडा नं. ४ कार्यालयबाट झुक्याएर घरबाटो सिफारिस लिन खोजेको थियो ।
‘मैले उक्त कित्ता त सडकमा पर्छ भनेपछि फर्किएको थियो,’ वडाध्यक्ष रवीन्द्र कर्माचार्यले भने, ‘पुरानै सिफारिस देखाएर पास गरेछन्, त्यस्तो सिफारिसको म्याद ३५ दिन मात्रै हो, मालपोतले खै कसरी पास गर्यो ।’ २०७६ वैशाख १५ गते प्रहरीलाई दिएको जाहेरीमा नक्कली ट्रेस नक्सा बनाई, अरूको जग्गा देखाई विश्वास दिलाएर पिच सडक बिक्री गरेको उल्लेख छ । प्रचलित मूल्यभन्दा निकै सस्तोमा जग्गा पाएपछि लोभिएर किन्दा उक्त समूह फसेको हो ।
नारकीय जीवन बिताउँदै पूर्वलडाकु
आठ वर्षीय जीवन विक घरको सुरमा उभिएर ‘मलखाद’ माथि बसेकी अचेत आमाको पीडा हेर्ने गर्छन। आमाको जलेको खुट्टा अनि अशक्त अवस्था देख्दा उनी भक्कानिन्छन्।
तत्कालीन माओवादी द्वन्द्वमा घरपरिवार त्यागेर पूर्वलडाकु ३२ वर्षीया निर्मला विक ‘साधना’ तीन वर्षदेखि अचेत छिन्। उनी बेलुका अँध्यारो बढ्दै जाँदा बाख्रा र कुखुरासँगै गोठमा सुताइन्छिन् अनि बिहान तिनै घरपालुवा पशुपन्छीसँगै बाहिर सारिन्छिन्। त्रिवेणी ५ जुगार जबरबोटकी निर्मला आठ वर्ष अगाडि रोगले थलिएकी हुन्। नागरिकमा खबर छ ।
छिटो ठूलो हुन पाए आमाको उपचार गर्न सकिन्थ्यो कि भन्ने जीवनलाई परेको छ। आमाको दैनिकीले उनलाई असाध्य पीडा हुन्छ तर बाल्यावस्थाका उनी निरीह छन्। ‘आमा सधैं भुइँमा नांगै सुत्नुहुन्छ। सुत्ने लुगा पनि छैन अनि लगाउने कपडा पनि छैन। जाडोमा पनि यस्तै हो’, आमालाई हेर्दै जीवनले भने, ‘सानो छु, केही गर्न सक्दिनँ। छिटो ठूलो हुन पाए कमाएर औषधि गराउने मन छ।’
माओवादी लडाकुको पाँचौं डिभिजन ब्यारेक दहबनमा हुँदै निर्मला बिरामी परेकी थिइन्। पछि थलिइन्। अहिले मृत्युसँग लड्दैछिन्।
निर्मला उपचार खर्चको अभावमा मृत्युसँग संघर्ष गरिरहेकी छन्। ‘छारे रोग लागेको भन्थे। बढी बिरामी भएको आठ वर्षजति भयो। तीन वर्ष यता त झनै केही थाहा पाउँदिनँ। दिसापिसाब बसेकै ठाउँमा गर्छे’, निर्मलाकी ६१ वर्षीय सासू क्वारी विकले भनिन्। निर्मलाका दुवै खुट्टा चार वर्षअघि जलेका थिए। ‘घरमा एक्लै थिई। दुईवटै खुट्टा आगोमा परेछन्। सबै जलेको। अस्पताल लैजाने पैसा थिएन। जडीबुटी खोजेर उपचार गरें’, क्वारीले घटना सुनाइन्, ‘जलेर कुहिएको खुट्टा गनाएर घरमै बस्न नसकिने। अहिले त अलि सन्चो भ’छ।’ उनी बुहारीले भोग्नुपरेको पीडाका कारण खिन्न छिन्। ‘धेरै दुःख पाई यसले। अभागी रैछे। त्यत्रो वर्ष माओवादीका लागि लडेकी, आज मर्नका लागि लड्दैछे।’
दिसापिसाब तर्काउन नसकेपछि अनि जलेको खुट्टा गनाउन थालेपछि उनलाई तीन वर्षदेखि बाख्राको खोरमा राख्न थालिएको हो। ‘सुरुमा इन्डिया लगेर उपचार गरेको, भएन। धामी, झाँक्री, जडीबुटी सबै गरेम्। सन्चो होला भनेको, उस्तै छ’, सासू क्वारीले भनिन्। छोराले माओवादीको सेना हुँदा बिहे गरेको क्वारीले सुनाइन्। ‘बिहे गरेको केही समयमै बुहारी बिरामी परी। आठ वर्षको नाति छ। बिचरोले आमाको दूध पनि खान पाएन। भैंसी र बाख्राको दूध खाएर हुर्केको हो। घर चल्न धौ भएपछि परार छोराले अर्को बिहे ग-यो। यो बुहारी दिनभर बाहिर बस्छे, राति बाख्राको कोठामा लग्छौं’, क्वारीले भनिन्।
निर्मलालाई वर्तमान उपराष्ट्रपति तथा तत्कालीन माओवादी सेनाका सैन्य कमान्डर नन्दबहादुर पुन पासाङले लडाकुसम्बन्धी तालिम दिएका थिए। निर्मलाको बन्दुकको बलमा विभिन्न लडाइँ लडेका अर्का कमान्डर रोल्पाकै वर्षमान पुन ऊर्जामन्त्री छन्। माओवादी लडाकुको पाँचौं डिभिजन दहवन रोल्पाका कार्यवाहक कमान्डर राजबहादुर बुढाजिल्ला समन्वय समिति प्रमुख छन। तर उनीहरु कसैको नजर मृत्युसँग संघर्ष गरिरहेकी निर्मलामाथि परेको छैन। निर्मलाको घर भएकै क्षेत्रबाट २०६४ मा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहालले चुनाव जिते। २०७० मा माओवादी नेत्री ओनसरी घर्तीले चुनाव जितिन् र सभामुख बनिन्। यसपाला वर्षमानले चुनाव जिते। तर उनीहरुले पनि निर्मलालाई सम्झेका छैनन्।
चुनावताका भोट माग्न आउने सबैलाई सासु क्वारीले बुहारीको अवस्था देखाएकी थिइन्। ‘भोट माग्न आउनेलाई बुहारीको अवस्था देखाएकी थिएँ। सबैले हेरे मात्र, केही बोलेनन्। उहीले सँगै लडेकाहरु कहाँकहाँ पुगे होलान्। हाम्रो घरमा आजसम्म कोही आएका छैनन्। छोराबुहारीले गरिबको खुसीका लागि लड्ने हो आमा भन्थे। खै को गरिबलाई राम्रो भएहोला’, क्वारीले गुनासो गरिन्।
‘उहिले जोस थियो। ठूलै परिवर्तन हुन्छ र जनताको दिन खुल्छ भनेर बन्दुक बोकेर लडियो। आखिरमा नेता माथि पठाउन मात्र रैछ। अहिले पछुतो भइरहेको छ। गल्ती गरिएछ जस्तो लाग्छ’, केही समय अगाडि नेपाल आएका बेला निर्मलाका पतिले गुनासो गरेका थिए।
चरम गरिबीमा बाँचिरहेको निर्मलाको परिवारसँग उनको उपचार गर्ने सामथ्र्य पनि छैन। सासूले सकेको जति स्याहार गरेकी छन्। ‘कपडा दिनकै फेर्नुपर्ने तर छैन। यी अहिले पनि नांगै छे’, क्वारीले भनिन्। निर्मलाका लागि न लगाउने कपडा छ न सुत्नका लागि बिस्तारा नै। जाडो, गर्मी, वर्षा, जहिल्यै खाली भुइँमा दिनरात बित्छ। निर्मलाको भोकप्यास साधनाको आवश्यकताले भन्दा पनि घरका सदस्यको फुर्सदमा भर पर्छ।
माओवादी लडाकुको पाँचौं डिभिजन ब्यारेक दहबनमा हुँदै निर्मला बिरामी परेकी थिइन्। उनका पति पुर्वान विक अयोग्य लडाकुमा परेको थिए। निर्मला भने दोस्रो प्रमाणीकरणमा पनि परेकी थिइन्। त्यही बीचमा उनलाई उपचारका लागि पतिले भारत लगे। उतै मजदुरी गर्दै उपचार गराए तर निको भएन। निर्मलाको उपचारमा करिब पाच सात लाख खर्च गरेको परिवारले बताएको छ। अब त उनीहरुसँग सामान्य औषधि किन्ने पैसा पनि छैन। निर्मलाका पति पुर्वान दोस्रो बिहे गरेर भारततिरै लागेका छन्।
प्रदेशमा विकास खर्च १७.०७ प्रतिशत
प्रदेश र स्थानीय सरकार गठन भएपछि विकासको मूल फुट्ने अपेक्षा जनताको थियो । तर, चालू आर्थिक वर्षमा पहिलोपटक पूर्ण बजेट ल्याएका यी सरकार विकास खर्च गर्न असफल भएका छन् । नयाँ पत्रिकामा समाचार छ ।
वर्षौँदेखिको विकासको भोको कर्णालीमा प्रदेश सरकारले सात दशमलव ६७ प्रतिशत विकास बजेट मात्रै खर्च गरेको छ । पुँजीगततर्फ १८ अर्ब ८३ करोड छुट्याएकोमा सरकाले एक अर्ब ४४ करोड मात्रै खर्च गर्न सक्यो । त्यसो त सातै प्रदेशको पुँजीगत खर्च औसतमा १७ प्रतिशत मात्रै छ । सबैभन्दा बढी खर्च गर्ने सुदूरपश्चिम सरकारको प्रगति पनि २२ दशमलव ८६ प्रतिशत मात्रै छ ।
देशको राजधानीलाई प्रतिनिधित्व गर्ने स्थानीय सरकार काठमाडौं महानगरपालिकाकै बजेट खर्च लज्जास्पद छ । काठमाडौं अविकासले अस्तव्यस्त छ, तर महानगरले विकास बजेटको २६ दशमलव ११ प्रतिशत मात्रै खर्च गरेको छ । देशका ६ वटै महानगरपालिकाले ५० प्रतिशत विकास बजेट पनि खर्च गर्न सकेका छैनन् । सबै महानगरपालिकाको विकास बजेट खर्च औसत २६.७५ प्रतिशत मात्रै छ ।
उपमहानगरपालिकाको हालत उस्तै छ । ११ उपमहानगरपालिकामध्ये धरानले मात्रै आधाभन्दा बढी अर्थात् ५८ प्रतिशत विकास बजेट खर्च गरेको छ । जनकपुरधाम उपमहानगरपालिकाले सबैभन्दा कम १३ दशमलव ८८ प्रतिशत विकास बजेट सकाएको छ ।
प्रदेशमा अनुदान घट्यो, स्थानीयमा बढ्यो
वित्तीय हस्तान्तरणअन्तर्गत संघीय सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि स्थानीय तहलाई उपलब्ध गराउने अनुदान रकममा वृद्धि गरेको छ । यसविपरीत प्रदेश सरकारको अनुदान रकम भने घटेको छ । तर, समग्रमा प्रदेश र स्थानीय तहको अनुदानमा भने पाँच अर्ब १७ करोड ८४ लाख रुपैयाँले वृद्धि गरेको छ । अगामी आर्थिक वर्ष २०७६/७७ मा प्रदेश र स्थानीय तहमा ३ खर्ब १३ अर्ब ६६ करोड ५५ लाख विनियोजन गरेको छ । जबकि चालु आर्थिक वर्ष २०७५/७६ मा ३ खर्ब ८ अर्ब ४८ करोड ७२ लाख रुपैयाँ विनियोजन गरेको थियो । स्थानीय तहहरूमध्ये पहानगरपालिका, नगरपालिका र गाँउपालिकाको अनुदानमा वृद्धि भए पनि उपमहानगरपालिकाको अनुदान भने घटेको छ । चालु आर्थिक वर्षमा ४ करोड ३८ लाख रुपैयाँले अनुदान घटेको छ । अर्थ मन्त्रालयले वित्तीय समानीकरण र सशर्त अनुदान अन्तर्गत यो अनुदान प्रदेश र स्थानीय तहलाई बाँडफाँड गरेको हो ।
कांग्रेसले दर्ता गरायो सार्वजनिक महत्वको प्रस्ताव
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वैदेशिक रोजगारीका सवालमा संसद्मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ। मलेसियाको वैदेशिक रोजगारी स्थगित भएसँगै लाखौं नेपाली त्यहाँ जानबाट वञ्चित भएका बेला कांग्रेसले उक्त प्रस्ताव दर्ता गराएको हो। समाचारपत्रले लेखेको छ ।
कांग्रेस सांसद डा डिला संग्रौलाले यो जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव गरेकी हुन् । उक्त प्रस्तावमा सांसद रामबहादुर विष्ट र देवप्रसाद तिमल्सिनाले समर्थन गरेका थिए ।
सांसद संग्रौलाले वैदेशिक रोजगार क्षेत्रमा देखिएको अव्यवस्था, विकृति र विसंगति हटाई वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउन संसद्मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेको जनाए ।
गत वर्ष कात्तिक १२ मा दुई देशबीच पहिलोपटक श्रम सम्झौता भए पनि नेपाल सरकारले अहिलेसम्म औपचारिकरूपमा कामदार पठाउन सकेको छैन।
संसद्मा वैदेशिक रोगजारी बारे छलफल गर्नुपर्नाका कारण उल्लेख गर्दै लाखौं नेपाली युवाको गन्तव्यका रूपमा रहेको मलेसियामा कूटनीतिक माध्यमद्वारा नेपाली कामदारको हकहित सुरक्षित हुने गरी जतिसक्दो चाँडो रोजगार खुला गर्नुपर्ने जनाइएको छ।
मलेसिया जान चाहने युवाको मेडिकल जाँच गर्ने संस्थाको छनोट गर्दा मलेसिया तथा नेपालका बिचौलियाको चलखेल नियन्त्रण गर्न सरकार पूर्णरूपमा असफल भएको कांग्रेसको आरोप छ। यसको प्रमाणका लागि मलेसियासँग शून्य लागतमा श्रम सम्झौता भए पनि ७ महिनासम्म मेडिकल गर्ने संस्था सूचीकरण र छनोट गर्न नसक्दा रोजगारी खुल्न नसकेको प्रस्तावमा उल्लेख छ।
पाँच लाखभन्दा धेरै नेपाली कार्यरत रहेको र वर्षेनी दसौं अर्ब रुपियाँ रेमिट्यान्स भित्रिने मुलुकमा कामदार पठाउन रोकिएपछि मलेसियाली रोजगारदाताहरू विकल्प खोज्न थालेका छन्। गत वर्ष कात्तिक १२ मा दुई देशबीच पहिलोपटक श्रम सम्झौता भए पनि नेपाल सरकारले अहिलेसम्म औपचारिकरूपमा कामदार पठाउन सकेको छैन।
हजारौं मजदुरलाई ठगी गर्ने कम्पनीहरूविरुद्ध कुनै कारबाही भएको छैन। १० हजार भरपाई दिएर २ लाख रुपियाँसम्म लिने एजेन्सीलाई सरकारले नियन्त्रण गर्न सकेको छैन। गत वर्ष आठ महिनामा ७७ हजार बढी युवा मलेसिया गएकोमा यस वर्षको सोही अवधिमा मलेसिया जाने नेपाली युवाको संख्या तीन हजारभन्दा कम छ।
वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार गत वर्षको १ साउनदेखि यस वर्ष २ जेठसम्म मलेसियामा १ सय ९४ जना कामदारले ज्यान गुमाइसकेका छन् भने ६७ जना गम्भीररूपमा अंगभंग भएका छन्। वैदेशिक रोजगारीका क्रममा गत आर्थिक वर्षमा सबै मुलुकमा गरी ८ सय २१ जना कामदारको मृत्यु भएको थियो।
विप्लवको तालिम केन्द्र खोज्दै सुरक्षाकर्मी
सोलुखुम्बूको महाकुलुङ गाउँपालिका–५ स्थित गुँदेलमा प्रतिबन्धित विप्लव समूहले सञ्चालन गरेको भनिएको तालिम केन्द्र प्रहरीले फेला पार्न सकेको छैन । आइतबार परिचालित सुरक्षाकर्मीले छेस्काम चौकी कब्जा गर्न आएका भनिएका विप्लव कार्यकर्ता र तालिम केन्द्र फेला पार्न नसकेका हुन् । अन्नपूर्णमा समाचार छ ।
गुँदेलमा तालिम केन्द्र सञ्चालन गरेको जानकारी प्रहरीलाई आइरहेकै बेला आइतबार छेस्कामको चौकीनजिक हतियारधारी समूह आएको सूचना पाएपछि प्रहरीले चौकी छाडेका थिए । यसैका आधारमा विप्लवले चौकी कब्जा र आक्रमण गरेको हल्ला फैलिएपछि देशभरि तरंग ल्याएको थियो ।
विप्लवको गतिविधि बढेको सूचनाका आधारमा गस्ती र सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरिएको छ । सोलुखुम्बूका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले छेस्काममा हल्ला मात्र चलाइएको बताए । उनले टेलिफोनमा भने, ‘छेस्काममा केही भएको थिएन, गुँदेलमा छ भनिएको तालिम केन्द्र खोजी भइरहेको छ, फेला पार्नासाथ जानकारी दिन्छौं ।’ विप्लवको गतिविधि बढेको र तालिम केन्द्र नै छ भन्ने सूचनाका आधारमा खोजी भइरहे पनि अहिलेसम्म फेला नपरेको उनको भनाइ छ ।
सोलुखुम्बूको महाकुलुङ केन्द्रित गरी प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली परिचालन गरेर तालिम केन्द्र र विप्लवका कार्यकर्ता खोजी भइरहेको छ । सशस्त्र प्रहरीको प्रदेश १ गण मुख्यालय रानी विराटनगरबाट डीएसपीको नेतृत्वमा ५० र केन्द्रीय प्रहरी विशेष कार्यदलबाट ३० सहित ८० प्रहरीको विशेष टोली सर्च अभियानमा छ । गुँदेलमा बिजुली र टेलिफोन अझै सुचारु हुन नसक्दा सूचना प्रवाहमा समस्या छ । ओखलढुंगाबाट समेत प्रहरी खटाइएको छ । बाहिरबाट आएको र जिल्लाभित्रकै सुरक्षाकर्मीको टोलीले सर्च अभियान सुरु गरेर विप्लव समूहका कार्यकर्ताको खोजी तीव्र पारेका छन् ।
सोलुखुम्बूका सीडीओ राना मगरका अनुसार एक जना पनि विप्लव कार्यकर्ता र हतियारधारी भनिएका कोही पनि पक्राउ परेका छैनन् । जिल्ला शान्त रहेको पनि उनले दाबी गरे । सोलुखुम्बूको सदरमुकामभन्दा निकै टाढा रहेका छेस्काम र गुँदेल संखुवासभा र भोजपुरसँग सिमाना जोडिएका गाउँ हुन् । यस क्षेत्रमा विप्लवका उच्च तहका नेता आएको अनुमान प्रहरीले गरेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २२, २०७६ १२:१०