झापा : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय आवश्यकताको परिणाम भएको बताएका छन् । बिर्तामोडमा आज आयोजित नेकपा, झापाको शपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्यसमेत रहेका रक्षामन्त्री पोखरेलले भने, यो कार्यकर्ताको चाहना, जनताको भावना र राष्ट्रिय आवश्यकताको परिणाम हो ।
मुलुकमा राजनीतिक अस्थिरताका कारण छ/छ महिनामा सरकार परिवर्तन हुने अवस्थालाई अन्त्य गर्न र मुलुककको आवश्यकता पूरा गर्न नेकपा बनेको उनले स्पष्ट पारे । कम्युनिष्ट फुट्न मात्र जान्दछन्, जुट्न जान्दैनन् भन्ने थियो , उनले भने, हामीले कम्युनिष्ट जुट्न जान्दछन् भन्ने सन्देश दिएका छौँ । अब मुलुकमा एमाले र माओवादी नरहेको बताउँदै नेता पोखरेलले नेकपा मात्र रहेकाले विगतका अनुभव र शिक्षाबाट पाठ सिकेर अघि बढ्न नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो । काली र सेती गण्डकी मिलेर नारायणी बनेको चर्चा गर्दै उनले भने, कालो र सेतो छुट्याउने होइन, एकताको भावनाका साथ अघि बढ्नुपर्छ, एमाले र माओवादी भन्ने कुरा रहेन, नेकपा बनिसक्यो ।
दुई धार तीन तरेलीको तात्पर्य खुलाउँदै नेता पोखरेलले भने, दुई धार भनेको पार्टीमा योगदान दिने कर्तव्यनिष्ठ कार्यकर्ता र पार्टीमा आबद्ध विषयविज्ञ (कृषि, शिक्षालगायत) हो, तीन तरेली भनेको पाका, अधवैँसे र युवा हुन्, यस्तो कमिटीले मात्र पार्टी सक्षम र सबल बन्न सक्छ ।
शृङ्खलाबद्ध कमिटी बनाउन आग्रह गर्दै उनले भने, साङ्लो जस्तो पार्टी सङ्गठन बनाउनुपर्छ, त्यस्तो सङ्गठनमा ऊर्जा हुन्छ । कम्युनिष्ट पार्टीमा ‘लैवरी लै हुने’ छुट नहुने बताउँदै नेता पोखरेलले पार्टीमा एउटै विशिष्ठ विचार हुने बताए । कम्युनिष्ट पार्टी एउटै चहकिलो विचारमा अघि बढ्नुपर्छ, खैँराती विचारले हुँदैन , उनले भने, त्यस्तो पार्टीले मात्र देशलाई सही दिशा दिन सक्छ ।