काठमाडौं : नवलपुरको देबचुली नगरपालिकाका हुरी पीडितलाई चौधरी फाउन्डेसनले एक सय बण्डल जस्तापाता सहयोग उपलब्ध गराएको छ । नेपाली काँग्रेसका सांसद एवं चौधरी फाउन्डेसनका अध्यक्ष विनाेद चौधरीले आफ्नो जिल्लामा हुरी र असिना पानीले व्यापक क्षति पुर्याए लगत्तै सहयोग उपलब्ध गराएका हुन् ।
जेठ ७ र ८ गतेको हुरी तथा असिना पानीले नवलपुरका दुई सयभन्दा धेरै घरका छानो उडाएको छ । ‘नवलपुरमा आएको हुरी तथा असिना पानीले आम नागरिकमा पुर्याएको असरबाट मर्माहत भएको छु । नवलपुरको वासिन्दा र यहाँहरूको जनप्रतिनिधिका हैसियतले यस दुःखद घडीमा म यहाँहरूको साथमै रहेको छु’ सांसद चौधरीले नवलपुरवासीलाई पठाएको सन्देशमा भनेका छन् ‘यो दुःख तपाईहरूको मात्रै नभएर मेरो पनि हो । हामी सबै मिलेर यसको सामना गर्नेछौँ ।’
विहिबार चौधरी फाउण्डेसनले देवचुली नगरपालिकाका प्रमुख पूर्णकुमार श्रेष्ठलाई जस्तापाता हस्तान्तरण गरेको हाे । नगरपालिकाको अध्ययन टोलीले हुरी पीडितका लागि तत्काल सबैभन्दा आवस्यकता जस्ता पाताको रहेको सुझाव दिएपछि सांसद चौधरीले तत्कालै नवलपुरवासीका लागि जस्तापाताको व्यवस्था गरेका हुन् ।
पीडितमध्ये पनि आर्थिक रुपमा विपन्न र सर्वाधिक प्रभावित परिवारलाई उच्च प्राथमिकतामा राखेर सहयोग वितरण गर्ने व्यवस्था मिलाइएको छ । सांसद चौधरीले उपलब्ध गराएकाे सहयोग करिब दस लाख रूपैयाँ बराबर रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६ २०:१०