बुटवल : प्रदेश सरकारले प्रदेश ५ को आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति कार्यक्रम स्वीकृत गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बुटवलमा आज बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरी प्रदेशसभामा पेस गर्नका लागि प्रदेश प्रमुख उमाकान्त झा समक्ष अनुरोध गर्ने निर्णय गरेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिए । प्रदेश योजना आयोगले बनाएको आवधिक योजनालाई आधार मानेर नीति तथा कार्यक्रम तयार भएको छ , उनले भने ।
आगामी बिहीबार बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख झाले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने चौधरीले बताए । बैठकले प्रदेशको अभिलेख संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा प्रदेश ५ प्राइभेट फर्म दर्ता सम्बन्धमा र साझेदारी सम्बन्धमा व्यवस्था गर्न बन्ने विधेयक तयार गरिएको अवधारणापत्रमा सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले प्रदेशको अभिलेख संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता चौधरीले जानकारी दिए ।
यसैगरी बैठकले सामाजिक विकास मन्त्रालयको प्रस्तावमा बुटवलमा सम्पन्न पाँचौँ खुला दोहोरी गीत प्रतियोगिता तथा सांस्कृतिक महोत्सवका लागि छ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ ।