काठमाडौं : नेपालमा भूकम्पको जोखिम अझै कायम रहेकाले सर्वसाधरणहरुलाई सचेत रहन भूगर्भविद्हरूले सुझाव दिएका छन् । वि.स २०७२ मा गएको विनासकारी भूकम्पपछि जमिनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेको र लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जान सक्ने भएकाले सजग रहन सुझाव दिइएको हो ।
स्वदेशी तथा विदेशी विज्ञहरूले अन्तर्राष्ट्रिय जर्नलहरूमा आफ्ना अध्ययनका आधारमा लेख प्रकाशन गर्दै नेपालीहरूलाई भूकम्पको पूर्वतयारीमा जुट्न सुझाव दिएका हुन् ।
नेपाल भौगर्भिक समाजका अध्यक्ष डा. कविराज पौडेलले गोरखा भूकम्पपछि सञ्चित शक्ति पूरै नबाहिरिएकाले यस क्षेत्रमा भूकम्पीय जोखिम कायमै रहेको जनाए ।
जापानको हिरोसिमा विश्वविद्यालयका प्राध्यापक यासुहिरो कुमाराको टोलीले पनि जमिनमुनि फुटेको चिरा सतहसम्म आइनपुगेकाले यहाँका प्लेटहरू जुध्दा सञ्चित भएको पूरै शक्ति स्खलन हुन नसकेको देखाएको छ ।
नेपाल, जापान, संयुक्त राज्य अमेरिका र चिनियाँ भूगर्भविद्को टोलीको अध्ययनले भूकम्पपछिको दरार भावर चुरेको सिमानाबाट एक सय किलोमिटर उत्तर सीमामा पर्ने काठमाडौं दक्षिणी क्षेत्र चन्द्रागिरीमा आएर अड्किएको देखाएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका निमित्त प्रमुख भरत कोइरालाले अफगानिस्तानदेखि म्यान्मारसम्मको हिन्दूकुश हिमालय पर्वत शृङ्खलाको एक तिहाइ भूभाग नेपालमा पर्ने भएकाले नेपालमा सधैं भूकम्पीय जोखिम हुने बताए । गोरखा भूकम्प जत्तिकै शक्तिशाली भूकम्प जान्छ कि जाँदैन भन्ने अनुमान भने गर्न नसकिने उनको भनाइ छ ।
विसं २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र भई ७ दशमलव ६ रिक्टर स्केलको भूकम्प जाँदा ३१ जिल्ला प्रभावित भएका थिए । पछिल्लो समय सिन्धुपाल्चोक केन्द्रविन्दु भई यही वैशाख १६ गते चार म्याग्नेच्युडको भूकम्प गएको थियो । गोरखा भूकम्पपछि अहिलेसम्म पाँच सय भन्दा बढी परकम्प गइसकेका छन् । पछिल्लो समय धादिङको नौबिसे केन्द्रविन्दु भई ३ दशमलव ९ रिक्टर स्केलको परकम्प गएको थियो ।
विज्ञहरूले संरचनालाई भूकम्पमैत्री बनाउँदै जमिन सुहाउँदो र अध्ययनका आधारमा भूगर्भ अनुकूलको संरचना बनाउन सुझाएका छन् । सडक विभागमा भूगर्भविद्को दरबन्दी राखी विकास गतिविधि र संरचना निर्माण अघि इञ्जिनियरिङ अध्ययन गराउनुपर्नेमा पनि उनीहरूको जोड छ ।
विसं २०७२ को भूकम्पपछि स्वदेशी तथा विदेशी भूगर्भविद्हरू नेपालको भूकम्पीय जोखिमबारे अध्ययन गरिरहेका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख ३०, २०७६ १८:११