काठमाडौं : बुद्ध एयरले आफ्ना ६८ जना सर्वसाधारण यात्रुलाई असुविधा पर्ने गरी सञ्चारमन्त्रीलाई पर्खिन नसकेको बताएको छ ।
वैशाख २ गते बुद्ध एयरको जहाजबाट काठमाडौं आउन लागेका सूचना तथा सञ्चारमन्त्री गोकुप्रसाद बाँस्कोटालाई जहाजले नपर्खिएको भनेर सञ्चारमाध्यममा समाचार प्रकाशन÷प्रसारण गरेका थिए । समाचार बाहिर आएपछि बुद्ध एयरले विज्ञप्ति जारी गर्दै सर्वसाधारण यात्रुलाई अलपत्र पारेर मन्त्रीलाई पर्खिन नसकेको स्पष्टोक्ति दिएको हो ।
बुद्धका अनुसार सोमबार अपराह्न ४ बजे काठमाडौंबाट भैरहवाका लागि उड्नुपर्ने भए पनि मौसम खराबीका कारण बेलुका ७ बजे मात्रै उडेर ७ः३२ मा भैरहवा अवतरण गरेको थियो । काठमाडौंबाट उड्ने समयमै उक्त जहाजबाट मन्त्री काठमाडौं नआउने जानकारी पाएको थियो, एयरलाइन्सले ।
तर, भैरहवामा यात्रुलाई जहाजमा बसालेर उड्न तयार हुँदा फेरि मन्त्री काठमाडौं जाने भन्दै सहायक सिडिओले फोन गरेर उडान रोक्न भनेका थिए । तर, उडान रोकेर पर्खिन थाल्दा मौसममा खराबी आउन सक्ने र उडान प्रभावित भएर यात्रुको बिचल्ली हुने भएकाले बुद्ध एयरले मन्त्रीलाई पर्खिन उचित ठानेन र सर्वसाधारण यात्रुलाई पहिलो प्राथमिकता दिँदै राति ८ बजे जहाज उड्यो ।
प्रकाशित मिति: बुधबार, वैशाख ४, २०७६ ००:१०