भीमदत्तनगर ः आफूसित जग्गाधनी प्रमाण पुर्जा हुँदाहुँदै पनि एक व्यक्तिले आफ्नै भूमि उपभोग गर्न पाएका छैनन् । विगत १७ वर्षदेखि कञ्चनपुरको पुनर्वास नगरपालिकाका करनबहादुर सुनारले जग्गा भोगचलन गर्न पाएका छैनन् । उक्त नगरपालिका-४ का सुनारको करिब १ बिघाभन्दा बढी जग्गा विगत लामो समयदेखि आफ्नो भूमि भएको दाबी गर्दै भारतीय नागरिकले उपभोग गर्दै आएका छन् ।
‘२०५८ मा खेतमा लगाएको अन्नबालीसमेत भारतीय सुरक्षाकर्मीले संकलन गर्न दिएनन्,’ सुनारले भने, ‘खेतमा खनजोत गर्न जाँदा पनि दुव्यर्वहार सहनुपर्ने स्थिति बन्छ ।’ पुर्नवासमा उक्त क्षेत्र भारतीयले आफ्नो भूमिमा पार्ने दाबी गर्दै आएको छ । ‘सत्र वर्षदेखि आफ्नो जमिन छुटाइदिन विभिन्न निकाय हारगुहार गर्दा पनि कतैबाट सुनुवाइ भएन ।’ आफूसित भएको जग्गाको पुर्जा देखाउँदै सुनारले भने, ‘लिखित रूपमै सरकारलाई जानकारी गराउँदा पनि केही भएन ।’
सिंहदरबार गाउँमा पुग्यो भनिए पनि जग्गाको विषय छिनोफानो हुन नसकेकोमा उनले दुखेसो पोखे । २०३१ देखि गाउँमा बस्दै आएका स्थानीयवासी मानबहादुर सुनारले नेपाल-भारत २०० नम्बरको सीमा पिल्लर गायब नहुँदा पनि भारतले नेपाली भूमि आफ्नो भनिरहेको बताए ।
‘सीमाको विवाद यथावत् रहँदा बेलाबेला भारतीय सुरक्षाकर्मीसित पनि मनमुटाव हुने गर्छ,’ उनले भने, ‘पुनर्वासमा शहीद बनेका गोविन्द गौतमको घटनास्थल क्षेत्रमा पनि अझै सीमा विवाद समाधान भएन ।’ सरकारले पुनर्वास बेलौरी नगरपालिका क्षेत्रको सीमा विवाद समाधान हुने आश्वासन दिए पनि हालसम्म नभएको स्थानीयवासीको गुनासो छ । -रासस
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५ १३:५२