काठमाडौं- सरकारले परराष्ट्र नीति २०७७ स्वीकृत गरेको छ। गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र नीति स्वीकृत गरेको हो।
यस्तै सोही बैठकले नेपाल रेडक्रस सोटाइटीको म्याद एक वर्ष थप गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए।
यस्तै धानको न्यूनतम समर्थन मूल्य तोक्नका लागि कार्यविधि समेत मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ। यसमा न्यूनतम समर्थन मूल्यमा धान किन्ने सहकारीलाई ११२ रुपैयाँ अनुदान दिने व्यवस्था उल्लेख छ।
कात्तिक ८ गतेबाट क्लिनफिड लागू
सरकारले विदेशी च्यानलको क्लिन फिड (विज्ञापनरहित प्रसारण)को निर्णयबाट पछि हट्न नसक्ने भन्दै सम्पूर्ण विदेशी च्यानललाई क्लिन फिड च्यानल प्रसारण गर्न आग्रह गरेको छ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विज्ञापन नियमन गर्ने ऐन र नियमावलीअनुसार कात्तिक ८ गतेबाट क्लिन फिड लागू हुने व्यवस्था कार्यान्वयन हुने बताएका छन्।
विहीबार पत्रकार सम्मेलन गर्दै गुरुङले क्लिनफिड लागू गर्ने निर्णय ऐतिहासिक भएको भन्दै सरकार यसबाटपछि नहट्ने बताए। 'यसको तयारी पहिलेदेखि नै थियो, अहिले ऐन र नियमावली बनेको छ,' उनले भने, 'सरकार ऐन र नियमावलीको भावनाअनुसार यो व्यवस्था कार्यान्वयन गर्छ।'
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७ १५:४८