काठमाडौं । सञ्चारमाध्यम सञ्चालकहरूकाे साझा संस्था मिडिया सोसाइटी विभाजित भएकाे छ ।
मिडिया सोसाइटीबाट छुट्टिएकाे समूहले भास्कर राजकर्णीकारको नेतृत्वमा मिडिया एलाइन्स नामक संगठन गठन गरेकाे छ ।
सञ्चार क्षेत्रलाई निष्पक्ष, तटस्थ र जनउत्तरदायी बनाउँदै लगानीकर्ताको हकहितका लागि भन्दै मिडिया अलाइन्स नेपाल नामक संस्था स्थापना गरिएकाे बताइएकाे छ ।
कर्णिकारको अध्यक्षतामा रहेको कार्यसमितिमा महेन्द्र शेरचन र जाजु कँडेल उपाध्यक्ष छन् भने महासचिवमा लक्ष्मण पौडेल, कोषध्यक्षमा उज्जवल शर्मा छन् ।
डा. विजय पौडेल, ऋषि धमला, राजेन्द्र शाक्य र सम्वृद्धि ज्ञवाली सदस्य छन् । संगठनकाे सल्लाहकारमा रामेश्वर थापा र विनोद ज्ञवाली छन्।
एलाइन्सले सञ्चार क्षेत्रलाई उद्योगको मान्यता प्रदान गर्न पहल गर्ने, सञ्चार क्षमता अभियान सञ्चालन गर्ने, विचार र अभिव्यक्ति स्वतन्त्रताविरुद्धका सबै गतिविधिको विरोध गर्दै लोकतान्त्रिक समाजको निर्माणमा पहल गर्ने बताएको छ ।
त्यस्तै, सञ्चारउद्यमीहरूबीच समय–समयमा अन्तर्क्रिया आयोजना गरी अनुभवको आदानप्रदान गर्ने, कोरोना महामारीले आर्थिक चापमा परेका सञ्चार उद्योगलाई सहुलियत ऋणको व्यवस्था गर्न पहल गर्ने, सञ्चारमाध्यमको दर्ता वा अभिलेखीकरणलाई सहज गर्ने, सञ्चारमाध्यमको पुनर्परिभाषा गरी व्यक्तिगत सञ्चारमाध्यमलाई सञ्चारको मान्यता प्रदान नगर्ने लगायतका उद्देश्य लिएको छ ।
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७ १५:३१