काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति देउवाले विधान मिचेर आफू बहादुर भएकाे मानसिकता पालेकाे बताएका छन् ।
पौडेलले पार्टी सभापति देउवाले आफूले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि बलमिच्याइँ विधान मिचेर बहादुरी देखाएको टिप्पणी गरेका हुन् ।
उनले भने, ‘हामीले बारम्बार पार्टीलाई विधानमा ल्याउन पार्टी सभापतिलाई ध्यानाकर्षण पटक पटक गर्दै आयौं । तर नेपाली कांग्रेसभित्र विधान मिच्नु बहादुरी हो जस्तै हाम्रो सभापतिलाई लाग्छ कि ? विधान मैले जति मिच्न सकेँ म त्यति बलवान सभापति ठहर्छु भन्ने उहाँको मानसिकता छ जस्तो मलाई लाग्छ। त्यसले यो पार्टी डेमोक्रयाटिक पार्टी नै हो कि होइन भन्ने खतरातिर जान लाग्यो भनेर हामी चिन्तित भएको हौं ।’
४ वर्षे कार्यकाल रहँदासम्म केही नगरेका सभापति देउवाले काम चलाउ भएपछि विभागहरुमा मान्छे भर्ना गरेर विधानको धज्जी उडाएको पाैडेलको आरोप छ ।
विशेष अधिवेशन बोलाउने अवस्था नरहेको भन्दै उनले यो मुद्दालाई महाधिवेशनमै उठाउने बताए । ‘यो विषयलाई उहाँको मनपरीतन्त्र, स्वेच्छाचारीतन्त्रको प्रमाण यही हो भनेर महाधिवेशनसम्म लैजान्छौं’ उनले भने ।
आफूले म नै सभापति हुनुपर्छ भनेर दाबी नगरेको तर सबैलाई न्याय पनि गर्नुपर्ने पौडेलले बताए । ‘पार्टीमा सबैलाई उमेरका आधारमा एउटै क्याटागोरीमा राख्न पाइँदैन । कसैले पार्टीको हितान जीवन दिएका छन होला । कसैले पटक पटक मौका पाउँदा दुरुपयोग गरेका होलान् । त्यसमा विवेक त पुर्याउनु पर्छ ।’
पार्टीको महाधिवेशन समयमै गर्न नसके पार्टी संकटमा पर्न सक्छ भन्दै आफूले ३ वर्ष अघिदेखि कार्यतालिका बनाएर काम गरौं भनेको तर सभापति देउवाले नमानेको पौडेलले बताए।
पछिल्लो समय देउवाले विभाग गठनलाई तीव्रता दिएका छन् । पार्टीको विधानअनुसार महाधिवेशन भएको २ महिनाभित्र गठन गर्नुपर्ने विभागहरु अर्को महाधिवेशनको मिति तय भइसकेको अवस्थामा बनाउनु गलत भएको पौडेल समूहले बताएको छ ।
प्रकाशित मिति: बुधबार, साउन २८, २०७७ १५:२२