काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्धलाई भारतीय भनी प्रचार गरेकोमा आपत्ति जनाएका छन् ।
आइतबार फेसबुकमा स्टाटस लेख्दै नेता नेपालले लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई 'महान् भारतीय' भन्दै भारतीय विदेशमन्त्री जयशंकरको अभिव्यक्ति तथ्यहीन र आपत्तिजनक भएको लेखेका छन् ।
सत्तारुढ नेकपाका वरिष्ठ नेता नेपालले सरकारलाई औपचारिक रुपमै भारतसँग कुरा गर्न अनुरोध समेत गरेका छन् ।
‘भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई ‘महान् भारतीय’ भन्दै गरेको प्रचार तथ्यहीन र आपत्तिजनक छ,’ नेता नेपालले भनेका छन्, ‘ऐतिहासिक तथ्य, प्रमाण र पुरातात्विक अध्ययनबाट समेत बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका बाँकी नरहँदा–नरहँदै बेलाबखतमा भारतीय नेताहरुबाट व्यक्त हुने यस्ता असंवेदनशील र गलत कुराले २ देशबीचको सम्बन्धमा प्रतिकूल असर पार्दछन् भन्ने कुरा ख्याल गर्न म ध्यानाकर्षण गराउँछु ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा नेपालको संसदमै बुद्ध नेपालमा जन्मिएका हुन् भनेर प्रष्ट उल्लेख गरेको सन्दर्भमा भारतीय जिम्मेवार अधिकारीबाट यस्ता अभिव्यक्ति आउनु थप दु:खद् रहेको नेपालको भनाइ छ।
‘यसबारेमा नेपाल सरकारलाई औपचारिक रूपमै भारतसँग कुरा गर्न अनुरोध गर्दछु,’ नेपालले भनेका छन् ।
भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इन्डियन इन्डस्ट्रीद्वारा शनिबार आयोजित इन्डिया एट ७५ भर्चुअल सम्मेलनमा सम्बोधन गर्ने क्रममा जयशंकरले बुद्ध महान् भारतीय भएको बताएका थिए ।
‘म हाम्रै इतिहासबाट दुई उदाहरण दिन चाहन्छु। अहिलेसम्मका दुई जना महान भारतीय को हुन्? जसलाई तपाईं सम्झन सक्नुहुन्छ?,’ जयशंकरले भनेका थिए,‘म भन्छु, एक जना गौतम बुद्ध हुन्। र अर्का महात्मा गान्धी हुन्। उनीहरू तपाईं हामीजस्ता भारतीयले सम्झने भारतीयमात्र होइनन् बरू संसारले सम्झने महान् भारतीय हुन्। अहिले पनि भगवान् बुद्ध र महात्मा गान्धीका गुण धेरैले सम्झिन्छन् ।’
प्रकाशित मिति: आइतबार, साउन २५, २०७७ १६:१५