काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ३ करोड नेपाली जनताको सम्पत्ति सुरक्षा गर्ने जिम्मेवारी भूमि व्यवस्था मन्त्रालयलाई भएकाले जिम्मेवारीपूर्वक काममा लाग्न कर्मचारीलाई निर्देशन दिएकी छिन् ।
मन्त्रालयलले सोमबार आयोजना गरेको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रगति समिक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधानको बैठकलाई सम्बोधन गर्दै मन्त्री अर्यालले कर्मचारीलाई त्यस्तो निर्देशन दिएकी हुन्।
‘जनताको सम्पत्तिको रक्षा गर्ने, जनताको सम्पत्तिको दस्तावेजहरुको स्क्यानिङ गरेर प्रविधिमैत्री बनाउने जिम्मेवारी हाम्रो काँधमा छ’, मन्त्री अर्यालले भनिन्, ‘सिंगो ३ करोड जनताको सम्पत्ति रक्षा गर्ने हाम्रो जिम्मेवारी रहेको छ। तपाईंहरु जिम्मवारीपूर्वक काममा लाग्नुस्।’
मन्त्रालयले विगतमा छुट्याएको भूभाग समेटेर नेपालको अद्यावधिक/राजनितिक नक्सा सार्वजनिक, आफ्नै स्रोत साधनमा सगरमाथाको उचाई मापन, अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा सरकारका नाममा फिर्तालगायतका महत्वपूर्ण कार्य आफ्नो कार्यकालमा गरिएको भन्दै मन्त्री अर्यालले स्थानीय तहमा सेवा हस्तान्तरण, भूमि बैंकको स्थापना, भूमिहीन सुकुम्बासीलाई जमिनको मालिक बनाउने महत्वपुर्ण जिम्मेवारी पुरा गर्नुपर्ने बताइन्।
प्रत्येक महिनाको कार्यतालिका बनाएर नतिजामूखी कार्यमा लाग्न आग्रह गर्दै मन्त्री अर्यालले बनाएको तालिकाअनुसार समयमै काम पुरा गर्ने कार्यमा अगाडि बढ्न कर्मचारीलाई निर्देशन दिएकी छन्। पहिलो चौमासिकदेखि नै कस्सिएर काममा लाग्नुपर्ने भन्दै उनले ऐन, नियम, कार्यविधी, नीतिसम्बन्धीका लक्ष्यहरु समयमै सम्पन्न गर्नका निम्ति तदारुकताका साथ लाग्न आग्रह गरिन्।
सुशासन र सेवाग्राहीका सन्तुष्टीका लागि लाग्न आग्रह गर्दै उनले मालपोत र नापीको हालको छविलाई जनपक्षीय, जनमैत्री छ भन्ने विश्वास दिलाउन सक्दो प्रयास गर्नुपर्ने बताइन्। सहकारीको नियमित अनुगमन, निरीक्षणलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने मन्त्री अर्यालले बताइन्।
कोरोना महामारीको विषम परिस्थितीमा पनि गत आर्थिक वर्ष र यस आर्थिक वर्षको प्रगतिमा तात्विक फरक नहुनु भनेको महत्वपूर्ण उपलब्धी रहेको मन्त्री अर्यालको भनाइ थियो।
यस आर्थिक वर्षमा मन्त्रालयले ७३.२० प्रतिशतको वित्तीय तथा ८०.११ प्रतिशतको भौतिक प्रगति गरेको छ। गत आर्थिक वर्षमा ६८.८० प्रतिशत वित्तीय र ९६.९४ प्रतिशत भौतिक प्रगति थियो।
प्रकाशित मिति: सोमबार, साउन १९, २०७७ १८:२२