काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि अयोध्या नेपालमा पर्ने भनेर दिएकाे अभिव्यक्तिप्रति भारतीय जनता पार्टी (भाजपा) ले आपत्ति जनाएको छ ।
भारतको सत्तारुढ दल भाजपाले प्रधानमन्त्री ओलीले विवादित अभिव्यक्ति दिएको भन्दै निन्दा गरेको हाे । भाजपाका प्रवक्ता विजय शोनकर शास्त्रीले रामप्रतिको आस्थामा खेलवाड गर्न नहुने भन्दै प्रधानमन्त्री ओलीको आलोचना गरेका छन् ।
शास्त्रीले भनेका छन्, ‘भगवान राम हाम्रो आस्थाको प्रतीक हुन् र यहाँका कसैले पनि रामप्रतिको आस्थामा खेलवाड गर्न दिँदैनन् । चाहे त्यो नेपालको प्रधानमन्त्री होस् वा जो कोही होस् ।’
सोमबार भानुजयन्तीको अवसरमा बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले रामको जन्म नेपालको अयोध्यापुरीमा भएको तर भारतले साँस्कृतिक अतिक्रमण गरेको अभिव्यक्ति दिएका थिए ।
प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७ ०५:३१